काठमाडौं, कात्तिक २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सोमबार छलफल गर्ने भनिएको विघटित कार्यदलका सदस्यहरुको बैठक बस्न सकेन ।
सम्भवतः भोली बैठक हुनसक्ने बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरुसँग दिउँसो १२ बजे छलफल हुने भनिए पनि दुई जना सदस्य अनुपस्थित हुनुभएपछि बैठक बस्न नसकेको हो । गत भदौमा गठन भएको कार्यदलले १५ बुँदे प्रस्ताव बुझाएको थियो । सोहीअनुसार दुई अध्यक्षले त्यसमा केही बुँदा थप गरी संयुक्त प्रस्ताव बनाउनु भएपछि गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव अनुमोदन गरेको थियो । सचिवालय बैठकले पनि त्यसलाई अनुमोदन गरेको थियो ।
सोही कार्यदलका सदस्यहरुसँग प्रधानमन्त्रीले सोमबार छलफल गर्ने समय तय भएको थियो । तर तत्कालिन माओवादीबाट कार्यदल सदस्य रहनुभएका जनार्दन शर्मा तथा पम्फा भुषाल छलफलमा सहभागी नहुनु भएपछि बैठक बस्न नसकेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । “हामीहरु चार जना बालुवाटारमा आधा घण्टा कुरेर बस्यौं, दुई जना साथीहरु नआउनु भएपछि बैठक बस्न सकेन, सम्भवतः भोली बस्छ” उहाँले भन्नुभयो ।
नेता शर्मा आइसोलेशनमा रहनुभएकाले बैठकमा अनुपस्थित हुनुभएको बताइएको छ । तर नेतृ भुषाल कार्यव्यस्तताले आफू बैठकमा सहभागी हुन नसकेको जानकारी दिनुभयो । सिंहदरवारमा एक समितिको बैठकमा सहभागी हुनुभएकी नेतृ भुषालले बालुवाटार जाने समय नमिलेकोले नगएको गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो ।
विघटित कार्यदलमा तीन प्रमुख नेताहरुका दुई–दुई जना सदस्य रहेका थिए । अध्यक्ष ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र सचिवालय सदस्य शंकर पोखरेल, वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट स्थायी कमिटी सदस्य भीमबहादुर रावल र सुरेन्द्र पाण्डे तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट नेता शर्मा र भुषाल सदस्य हुनुहुन्थ्यो ।
पार्टीको आन्तरिक विवाद बढेकाबेला गत भदौमा प्रस्ताव तयार गरी तत्कालका लागि विवाद सल्टाएको विघटित कार्यदलका सदस्यसँग छलफल गरेर पुनः समस्याको समाधान गर्ने तयारी अध्यक्ष ओलीले गर्नुभएको छ । त्यही तयारीका लागि छ जना सदस्यसँग छलफल गर्ने तयारी गरिएको थियो ।