काठमाडौं । काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै शभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५६९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५६९ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६२ हजार २४३ जना डिस्चार्ज भएका छन् ।
देशभर आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार १०९ जना क्वारेन्टिनमा रहेका छन् । यससँगै कुल संक्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।
त्यस्तै नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो ।
मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो ।
पछिल्लो केही सातायता कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा समेत वृद्धि भइरहेको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ५६९ कोरोना भाइरस संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या दुई लाख दुई हजारभन्दा बढी पुगेको छ ।