कांग्रेसको बैठकमा महाधिवेशनको कार्यतालिका र आन्दोलन रणनीतिबारे छलफल

काठमाडौं, फागुन ६ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका

मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको कार्यतालिका र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

बुधबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले आफू सर्वाेच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा व्यक्त गरे। निर्वाचन हुनै सक्दैन भनेर नेताहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेका थिए।

नेपाली कांग्रेसको महाधिवेशन २०७८ भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। शीर्ष नेताहरूसँगको परामर्शपछि बुधबार बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेको मुख्यसचिव पौडेलले जानकारी दिए। यसअघि फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय भएको थियो।

बैठकले विधानका केही धारा निलम्बन गरेको छ। विधानअनुसार महाधिवेशन नहुने भएपछि धारा निलम्बन गर्दै नयाँ मिति प्रस्ताव गरिएको हो। कांग्रेसको विधानको धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूको पदावधि चार वर्ष हुने व्यवस्था छ। असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिको कार्यकाल फागुन तेस्रो साता सकिँदै छ। विधानको सुविधाअनुसार पाँच वर्षमा पनि महाधिवेशन नहुने निश्चित भएपछि कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार भदौमा महाधिवेशन गर्न लागेको हो। संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांशमा पाँच वर्षभित्र निर्वाचन हुन नसके थप ६ महिनाको सुविधा दिइएको छ।

प्रस्तावित मितिअनुसार संघीय व्यवस्थाबमोजिम संगठन समायोजन हुन बाँकी जिल्लाले अबको एक साताभित्र काम टुंग्याउनुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। प्रवक्ता शर्माका अनुसार जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता फारम चैतभित्र केन्द्रमा पठाइसक्नुपर्ने प्रस्तावित कार्यतालिकामा उल्लेख छ। क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले ०७८ जेठभित्र सदस्यताको अन्तिम सूची केन्द्रीय सभापतिलाई बुझाउनुपर्नेछ। केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची असार ७ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →