काठमाडौं, फागनु २१ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले केहीबेरमा संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् ।
सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन अहिले राष्ट्रिय सभागृहमा संयुक्त रुपमा सम्बोधन गर्न लागेका हुन् ।
बिहीवार भएको सहमतिअनुसार नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने र विप्लव नेतृत्वको नेकपाले पनि आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने भएका छन् ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।