काठमाडौँ, चैत २४ गते । एमाले, संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विधि र विधानविपरीत समानान्तर गतिविधि गर्ने, समानान्तर कमिटी गठन गर्ने र ती कमिटीमा बस्ने सबैलाई कारवाही हुने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको वैठकवाट बाहिरिँदै गर्दा भट्टराईले एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले गठन गरिरहेका समानान्तर कमिटीको नाम नलिई यस्तो टिप्पणी गरेका हुन्।
नेपाल–खनाल समूहले काठमाडौं लगायत विभिन्न जिल्लामा समानान्तर कमिटी गठनलाई तीब्रता दिएको छ। ‘यदि कोही व्यक्ति अवैधानिक तरिकाले चल्छ भने पार्टीको कारवाहीको भागीदार हुन्छ’, भट्टराईले भने, ‘विधि र विधानवाट चल्नुपर्ने पार्टीमा यदि गैरकानुनी गतिविधि हुन्छन् भने स्वाभाविक रुपले पार्टीको कारवाहीको विषय बन्छ।’
समानान्तर कमिटी गठन गर्ने कार्य स्वीकार्य नहुने भन्दै उनले यही तरिकाले जाने हो भने कमिटी गठन गर्न उद्दत हुने र कमिटीमा बस्नेहरुलाई पनि कारवाही हुने बताए।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हित विपरीतका गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महीनाका लागि साधारण सदस्यसमेतबाट निलम्बन गरिसकेका छन्।