काठमाडौं, बैशाख ६ गते । नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृखंलाको तेस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दैछ । प्रतियोगितामा दुबै टोलिको यो दोस्रो खेल हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह सबा एक बजेबाट उक्त खेल हुनेछ । प्रतियोगिताको पहिलो खेलमा सशक्त प्रतिद्वन्दी नेदरल्याण्ड्सलाई हराएको नेपालले घरेलु मैदान उच्च मनोबलका साथ उत्रिनेछ । मलेसियाले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग झिनो अन्तरको हार बेहोरेको थियो ।
नेदरल्याण्ड्स बिरुद्ध १९२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मात्र १५ रनले हार बेहोरेको मलेसियाले नेपाललाई घरेलु मैदानमा हराएर प्रतियोगितामा आफ्नो स्थितिलाई बलियो बनाउन प्रयत्नशील रहनेछ । पहिलो खेलमा हार बेहोरेकोले प्रतियोगितामा जिवित रहन समेत मलेसियाले आजको खेल जित्नैपर्ने दबाब हुन्छ ।
नेपाल र मलेसियाले टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बिगत्मा चार पटक एक अर्काको सामना गरेको छ । जसमध्ये नेपालले तीन खेलमा जित र एकमा हार बेहोरेको छ । मलेसिया बिरुद्धको आफ्नो जित प्रतिशतलाई सुधार्न नेपाललाई घरेलु मैदानको अबसर छ ।
पछिल्लो पटक सन् २०१९ को जुलाईमा नेपालले मलेसियाको सामना गरेको थियो । उक्त खेलमा नेपालले मलेसियालाई छ रनले हराएको थियो । नेपालले तयार गरेको १७३ रनको लक्ष्य पछ्याउँदै मलेसियाले सात विकेटको क्षतिमा मात्र १६७ रन जोडन सकेको थियो । नेपालको जितमा बिनोद भण्डारीले अद्र्धशतकीय पारी खेल्नुभएको थियो ।
जारी त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलामा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएकोले नेट रन रेट समेत उच्च छ । नेपालले एक खेलबाट दुई अङ्क बटुलेको छ । नेट रन रेट २.६ छ । दुई खेलमध्ये एकमा जित र अर्कोमा हार बेहोरेको नेदरल्याण्ड्सको दुई अङ्क र नेटरन रेट ऋणात्मक छ । मलेसिया अङ्क नजोडेपनि नेट रन रेट भने नेदरल्याण्ड्सभन्दा बलियो छ ।