‘रैया चाँदीको’ : एक वर्षअघि बनेको थियो, फिल्ममा आउँदा पूर्णता पायो

गण्डकी । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई दर्शकले जति रुचाइरहेका छन्, यसमा समावेश गीत ‘रैया चाँदीको’लाई पनि श्रोता-दर्शकले उत्तिकै मनपराएका छन् ।

कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक हेरिएको छ । आशिष अविरल र मेलिना राईद्वारा स्वरबद्ध उक्त गीतमा नवराज पन्तको शब्द र आशिष अविरलकै सङ्गीत छ ।

ठेट शब्द, मौलिक भाका र गायकीका कारण उक्त गीत श्रोता-दर्शकको रोजाइमा पर्न सफल भएको हो । दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ । गायक तथा सङ्गीतकार आशिष अविरलका अनुसार ‘रैया चाँदीको’ थेगो र भाका एक वर्षअघि नै तयार भइसकेको थियो । गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको उनले सुनाए ।

‘गीत ल्याउने भन्दाभन्दै झन्डै एक वर्ष बितिसकेको थियो, शब्दले पनि पूर्णता पाइसकेको थिएन’, आशिषले भने, ‘अहिले सोही गीत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश भयो, श्रोता-दर्शकले पनि अत्यधिक रुचाइदिनुभएको छ ।’

फिल्म निर्माताले ३० को दशकमा प्रचलित भाखा र शैलीको गीत मागेपछि शब्द तथा सङ्गीतमा सामान्य परिमार्जनसहित उक्त गीत उपलब्ध गराइएको आशिषले बताए ।

फिल्मको विषय र कथानकसँग मिल्दोजुल्दो भावमा बनेकाले निर्माताले पनि एकैपटकमा उक्त गीतलाई स्वीकारेको उनको भनाइ छ । बागलुङे हुनुको नाताले गीतमा प्रयुक्त ‘रैया चाँदीको, म त बागलुङे, मैंया मादीको’ बोलको गीत गाउन पाउनु आफ्ना लागि विशेष रहेको आशिषले बताए । ‘यो गीत मेरो जिल्लावासीका लागि एउटा उपहारजस्तो पनि हुनपुग्यो, इतिहास बनाउन सफल फिल्मका लागि गीत गाउन र सङ्गीत दिन पाउनु मेरा लागि सौभाग्यको विषय हो’, उनले भने ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →