लेखनाथ, मङ्सिर २८ गते । सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायत माथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहनुभएका लामिछानेलगायतमाथि देशका पाँच सहकारीबाट ६५ करोडभन्दा बढी रकम अवैधानिक रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको आरोप छ ।
सोही आरोपमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा पाँच करोड ५८ लाख रकम अवैधानिक रूपमा गएको देखिएको छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको औँल्याएको छ । कास्की प्रहरीले एकसाथ थप अभियोग र पूरक प्रतिवेदन बुझाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया अनुसन्धान अन्तिम चरणमा पुगेको बताउनुहुन्छ ।
“अनुसन्धान करिब सकिएको छ । अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गर्दै हुनुहुन्छ,” ओलियाले भन्नुभयो, “थपिएकै म्यादमा सक्ने प्रयत्न छ, अहिले नै यही दिनमा प्रतिवेदन बुझाउँछौँ भन्ने अवस्था रहेन ।” प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा थप अभियोगपत्र बुझाइसकेको छ भने पूरक प्रतिवेदन तयार गर्दै छ ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्ले प्रहरी प्रतिवेदन प्राप्त भइसकेपछि अभियोजनतर्फ लाग्ने उल्लेख गर्नुहुन्छ । “हामी एकसाथ दुई अभियोगपत्र, थप अभियोग र पूरक अभियोग लैजान्छौँ । थप अभियोगपत्र भर्खर प्राप्त भएको छ,” काफ्ले भन्नुहुन्छ, “पूरक अभियोगपत्र प्राप्त हुनै बाँकी छ । अभियोगपत्र प्राप्त भइसकेपछि केही समय त्यसको अध्ययनका लागि चाहिन्छ । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निक्र्याेल हुन्छ । त्यसपछि अभियोगपत्र तयार गर्ने चरण आउँछ ।”