लेखनाथ, पुस २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस सकिएको छ ।
प्रतिवादीहरूको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार दिउँसो सकिएको हो । जवाफी बहस सकिएपछि सबै प्रतिवादीलाई न्यायाधीश नीतिज राईले आफ्ना कुरा राख्न समय दिनुभएको थियो ।
राईको इजलासमा गोरखा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेले आफूलाई थुनाबहिरै रहेर मुद्दा लड्ने अवसर दिन आग्रह गर्नुभयो । “मलाई थुना बाहिरै रहेर मुद्दा लड्ने अवसर दिइयोस्,” लामिछानेले भन्नुभयो, “सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न पहल गर्छु । पीडितको पक्षमा निरन्तर काम गर्छु ।
आफ्ना कुरा राख्ने क्रममा अन्य प्रतिवादीहरूले पनि सूर्यदर्शन ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्नुभएको थियो । अदालतका स्रेष्तेदार राजन खनालले जवाफी बहस सकिएको र आजै आदेश आउने उल्लेख गर्नुभयो ।
पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । अब न्यायाधीश राईको इजलासबाट साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ ।
लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लिला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ, आरती गुरुङ हुनुहुन्छ ।
लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ । गोरखापत्रबाट