काठमाडौँ, साउन ६ गते । जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने भएकाे छ।
जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए।
तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ थाहा भइनसकेकाे मन्त्रालयले जनाएको छ। सचिव दाहालले पहिला भाषा परीक्षा अक्टोबर महिनाको २७/२८ तारिख र सीपसम्बन्धी परीक्षा नोभेम्बरको ६ र ७ तारिखमा हुने बताए।
गत चैतको दोस्रो साता नेपाल र जापान सरकारबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा हस्ताक्षर भएको थियो।
त्यतिबेला उक्त सम्झौता अनुसार नेपालबाट कामदार जापान पठाउने प्रक्रिया अप्रिल महिनाबाटै शुरू हुने बताइए पनि त्यसमा अलमल भएको थियो।
भाषा र सीपसम्बन्धी परीक्षा सकिएको दुई महिनाभित्र नेपाली कामदार जापान जाने सचिव दहालले बताए।