सन्धिखर्क पुस २० गते । मौवापोखरी निवासी ५४ वर्षीय टाम्के कामी एक वर्षअघि छत्रदेव गाउँपालिकाले टिन दिएपछि जस्तापाताले छाएको घरमा बस्न पाउँदा मख्ख छन्।
ऋण तिर्न नसक्दा साहुले जस्तापाता लगेको दिन सम्झँदै उनी भन्छन्, ‘गरिब र दीनःदुखीका पनि दिन आउँदा रहेछन्। मेरा लागि बल्ल सरखार (सरकार) आयो। अब जस्तापाता कसले ओखल्न सक्छ ? ’
दुई वर्षअघि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३ उनले स्थानीय साहुको पसलबाट उधारोमा लगी घरमा टिन लगाए। दिनहुँ मजदुरी गरेर खाने टाम्केले घरमा लगाएको टिनको पैसा समयमै तिर्न नसक्दा ६ महिनापछि साहुले घरमा लगाएको टिन नै उखलेर लगे। त्यसपछि उनी पहिलेजस्तै सल्ली पराल र खरले घर छाएर बसेका थिए। छत्रदेव–२ बल्कोटकी विष्णुमाया नेपालीले घरमा टिन लगाउने कुरा सोचेकी पनि थिइनन्। तर, अहिले गाउँपालिकाले बोलाएर टिन दिएपछि उनी असाध्यै खुसी छन्। ‘२० वर्षदेखि एउटा घडेरी किनेर खरको छानोमा बस्दै आएका थियौं। श्रीमान् रोगी हुनुहुन्छ, केही काम गर्न सक्नुहुन्न’, मायाले भनिन्, ‘खरले छाएको घर पानी आउँदा चुहिन्थ्यो।’
टाम्के कामी र विष्णुमाया नेपाली मात्र हैन, छत्रदेव गाउँपालिकाका खरको छानो भएका मानिसजस्ता पाता पाउँदा अत्यन्तै खुसी छन्। गरिब भएकै कारण खरको छानोमा बस्न बाध्य भएको भन्दै उनीहरूको जीवनस्तर माथि उठाउन सबैभन्दा पहिले घर निर्माण आवश्यक रहेको निष्कर्ष निकालेको थियो। सोहीअनुसार गाउँपालिकाले खरको छानोमुक्त पालिका बनाउने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए। यही निर्णयका कारण अर्घाखाँचीको छत्रदेव गाउँपालिका खरको छानोमुक्त भएको छ।
गतवर्ष गाउँ कार्यपालिकाको सभाले एक करोड २० लाख रुपैयाँ जस्तापाता वितरणका लागि विनियोजन गरेको थियो। १ करोड २० लाखको १ हजार एक सय ३५ बन्डल टिन खरिद गरी वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए। सबै टिनको पातामा सीआरएम अर्थात् छत्रदेव गाउँपालिकाको छोटकरी रूप लेखी २६ गेजको टिन खरिद गरिएको हो। जस्तापाता ३ सय ३४ घरका लागि २७÷२७ पाताका दरले वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताइन्।
अर्घाखाचीका सन्धिखर्क, शितगंगा, भूमिकास्थान नगरपालिकाका साथै पाणिनी र मालारानी गाउँपालिकाले पनि खरको छानो विस्थापित गर्दै जस्तापाता लगाउने अभियान सुरु गरेका छन्। प्रदेश ५ का कतिपय स्थानीय तहले आफैं जस्तापाता किनेर दिएका छन् भने केहीले जस्तापाता किन्न अनुदान दिएर सर्वसाधारणका बस्तीलाई चम्काउँदैछन्। पाँच वर्षभित्र खरका छानो भएका घरमा जस्तापाता राख्न बजेट विनियोजन भइरहेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए।
गुल्मी जिल्लामा पनि जनता आवास कार्यक्रमअन्तर्गत खरका छाना भएका घरलाई टिन उपलब्ध गराइएको छ जसले गर्दा गाउँ नै हरियो जस्तापाताले भरिएका छन्। गुल्मी जिल्लाका १२ वटा स्थानीय तहमध्ये १० वटामा जनता आवास कार्यक्रम छ। गरिब, दलित र विपन्न नागरिकलाई लक्षित गरी जस्तापाता उपलब्ध गराउने कार्यक्रम जिल्लामा अभियानकै रूपमा अघि बढेको छ। जिल्लाकै दुर्गम मदाने गाउँपालिकाले खरका छानामुक्त अभियानलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। गतवर्ष यो गाउँपालिकाले सोही कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए। गाउँपालिकाभर झन्डै ६ सय घरधुरी खरका छाना रहेको तथ्यांक छ।
मालिका गाउँपालिकाले पनि गत वर्ष १ करोड बजेट विनियोजन गरी ३ सय ७० खरका छाना भएका घरधुरीलाई जस्तापाता उपलब्ध गराएको जनाएको छ। ईस्मा गाउँपालिकाले पनि यस अभियानलाई प्राथमिकतामा राखेको छ। गत वर्ष यस गाउँपालिकाले ९० लाख बजेट विनियोजन गरी ३ सय ४८ घरधुरीलाई जस्तापाता उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।
सदरमुकाम समेत रहेको रेसुंगा नगरपालिकाले यस वर्ष उक्त कार्यक्रमका लागि ४२ लाख बजेट विनियोजन गरेको छ। मुसिकोट नगरपालिकाले गत वर्ष सो कार्यक्रमका लागि ३० लाख बजेट विनियोजन गरी खरका छाना भएका घरधुरीलाई जस्तापाता उपलब्ध गराएको जनाएको छ। मुसिकोटले दलितबस्ती सुधार कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिका ९ अर्लाङकोटमा २० लाख बजेट विनियोजन गरी खर्च गरेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।
गुल्मीको छत्रकोट गाउँपालिकाले पनि खरका छाना भएका घरलाई टिन उपलब्ध गराउने कार्यक्रम अगाडि बढाएको छ। यस गाउँपालिकाले यो वर्ष ५० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए। रुरु गाउँपालिकाले जस्तापाता खरिदका लागि यो वर्ष २५ लाख बजेट विनियोजन गरेको छ। सत्यवती गाउँपालिकाले झण्डै ५ लाख बजेट विनियोजन गरेको छ भने धुर्कोट गाउँपालिकाले गतवर्ष १ करोड बजेट विनियोजन गरेको थियो। चन्द्रकोट गाउँपालिकाले गत वर्ष १८ लाख बजेट विनियोजन गरेको थियो भने यस वर्ष ६२ लाख बजेट विनियोजन गरेको छ। गुल्मी दरबार गाउँपालिकाले गत वर्ष उक्त कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरी जस्तापाता उपलब्ध गराएको थियो भने यो वर्ष झन्डै १२ लाख बजेट विनियोजन गरेको जनाएको छ।