शिक्षक संघ बागलुङको प्रतिनिधि सभा फागुनमा

बागलुङ-
नेपाल शिक्षक संघ बागलुङको जिल्ला स्तरीय प्रतिनिधि सभा अगामी फागुनमा हुने भएको छ । संघको जिल्ला कार्यसमितिको १४ औं बैठकले माघ महिना भित्र जिल्लाका दश वटै स्थानिय तहमा प्रतिनिधि सभा सम्पन्न गरी जिल्ला स्तरीय प्रतिनिधि सभा आगामी फागुनमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
हाल सम्म चार वटा स्थानिय तहको प्रतिनिधि सभा सम्पन्न गरिसकिएको र बाँकी ६ वटाको पनि माघ महिना भित्र सम्पन्न गरी फागुनमा जिल्ला स्तरीय प्रतिनिधि सभा सम्पन्न गर्ने नेपाल शिक्षक संघ बागलुङका जिल्ला अध्यक्ष उमाकान्त पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्लाको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा यही पुष २६ गते, जैमिनी नगरपालिकामा आगामी माघ १ गते, ताराखोला गाउँपालिकामा आगामी माघ ४ गते र बरेङ गाउँपालिकामा आगामी माघ १८ गते प्रतिनिधि सभा गर्ने मिति तय गरिएको छ भने बाँकीमा यस अघिनै सम्पन्न गरिएको छ । प्रतिनिधि सभा जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटामा गर्ने गरी तय भएको शिक्षक संघले जनाएको छ ।

शनिबार सम्पन्न बैठकले शिक्षक संघ बागलुङको सल्लाहकारमा थप तिन जनालाई मनोनयन गरेको छ । जसमा चन्द्रसिंह राम्जाली, तारा बहादुर विश्वकर्मा, पुर्ण बहादुर न्यौपाने रहेका छन । त्यसैगरी विमला गुरुङलाई संघिय प्रतिनिधि र सम्झना शर्मालाई प्रदेश प्रतिनिधिको रुपमा मनोनयन गरेको शिक्षक संघ बागलुङका सचिव लक्ष्मीकान्त पौडेल ‘राजेन्द्र’ जानकारी दिए । समितिले यस अघि नै जिल्ला कार्यसमितिमा मनोनय गर्न बाँकी सदस्यलाई पनि मनोनय गरिसकेको छ ।