बागलुङ , असोज -१४ । सहकारी ठगीको आरोपमा भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आईतबार राती बागलुङ ल्याईएको छ ।
शनिबार दिल्लिबाट काठमाण्डौ ल्याईएका नेपालीलाई आईतबार रातीनै हवाई मार्गहुँदै पोखरा ल्याईएको थियो ।
पोखराबाट नेपाल प्रहरीले उनलाई सडकमार्गहुँदै बागलुङ ल्याएको हो । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई सहकारी ठगी र संगठित अपराधको आरोप छ । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि बागलुङ ल्याइएको छ ।
पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्यार्ईएको प्रहरी निरीक्षक केशव बहादुर थापाले बताए । उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । इमेज सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए । नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो । प्रहरीले सोमबार जिल्ला अदालतबाट म्याद थपको तयारी गरिरहेको थापाले बताए । आजै अदालत पेश गर्ने र म्यादथप पछि आवश्यक अनुसन्धान अघि बढ्ने उनले बताए । ढोरपाटन दैनिक बाट