बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटामा शान्तिपार्कको निर्माण गरिएको छ । करिब १ रोपनी क्षेत्रफलमा निर्माण गरिएको शान्तिपार्कमा शिव र पार्वतीको मुर्ति पनि स्थापना गरिएको छ । महाशिवरात्रीको अवसरमा शुक्रबार शान्तिपार्कको उदघाटन् गर्नका साथै शिव पार्वतीको मुर्तिमा अनावरण गरिएको छ । मुर्तिको अनावरण बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले गरेका थिए । मुर्ति अनावरण पछि बोल्दै पौडेलले पैयुँपाटालाई आन्तिरिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न शान्तिपार्क निर्माण गरिएको बताए । उनले शिव पार्वतीको मुर्ति स्थापना सँगै यस क्षेत्रमा धार्मिक पर्यटनको पनि आगमन बढने विश्वास रहेको बताए । पार्क भित्र विभिन्न फुलका विरुवाका साथै पानीको फोहोरा भएका सुन्दर पोखरी पनि निर्माण गरिएको छ । पार्क निर्माणका लागि जिल्ला बन कार्यालय बागलुङको १२ लाख रुपैयाँ, बागलुङ नगरपालिकाका एक लाख रुपैयाँ र वडा कार्यालयबाट एक लाख ६५ हजार गरी कुल १४ लाख ६५ हजार रुपैयाँ खर्च भएको वडा अध्यक्ष पौडेलले बताए ।