मकवानपुर, बैशाख -२७। मकवानपुरको अग्रणी साहित्यिक संस्था भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले शनिबार हेटौँडामा विभिन्न विधाका नाैजना स्रष्टालाई सम्मान गरेको छ ।
प्रतिष्ठानले फरक विधामा चारजनालाई राष्ट्रिय पुरस्कार र अन्य पाँचजनालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
भीम विराग राष्ट्रिय साहित्य पुरस्कारबाट सुनसरीका कुन्ता शर्मा, राष्ट्रिय संगीत पुरस्कारबाट मकवानपुरका लाल श्रेष्ठ र राष्ट्रिय कला पुरस्कारबाट मकवानपुरकै बिएस राना र राष्ट्रिय पत्रकारिता पुरस्कार ललितपुरका जयदेव भट्टराईलाई प्रदान गरिएको छ । २५ हजार रुपैयाँ नगद राशि रहेको राष्ट्रिय पुरस्कार यस वर्षबाट प्रदान गर्न सुरु गरिएको हो ।
यस्तै, मुक्ति गोविन्द वैद्यले स्थापना गरेको १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरका मञ्जु खराललाई, विन्दुगोविन्द गोर्खालीले स्थापना गरेको सात हजार पाँच सय राशिको भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरका इशान्तकुमार मिश्रलाई र आशिष श्रेष्ठले स्थापना गरेको १५ हजार राशिको शिला नारी पुरस्कार मकवानपुरका निरु मगरलाई प्रदान गरिएको छ ।
चुनु बानियाँले स्थापना गरेको २० हजार राशिको विजय बानियाँ स्मृति लोकसंगीत पुरस्कार मकवानपुरकी लोकगायिका पम्फा थापामगरलाई, देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले स्थापना गरेको १० हजार राशिको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार मकवानपुरका सीमा मिश्रलाई र रोशन सेन गुप्ताले स्थापना गरेको १० हजार राशिको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी शिक्षिका अञ्जु धिताललाई प्रदान गरियाे ।
सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई हेटौाडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठलगायतले नगद तथा सम्मानपत्र प्रदान गरेका छन् ।