विरगञ्ज। एउटा युवतीलाई सामूहिक बलात्कार गर्न खोज्नेलाई कस्तो सजाय हुनुपर्ला ? तपाईं मध्ये अधिकांशले भन्नुहुन्छ कडा भन्दा कडा, हदै सम्मको कानूनी कार्वाही हुनुपर्छ ।
यसबाहेक तपाईंले युवतीलाई न्याय हुने जुन कुरा पनि गर्न सक्नुहुन्छ ।
तर पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर १ मा यस्तो भएन । एक युवतीलाई सामूहिक बलात्कार गर्न खोज्ने पाँच जनालाई प्रहरीको हिरासतबाट निकाली पञ्चायत बसेर सजाय तोकियो– पाँच दिन स्थानीय मन्दिर सफा गर्न लाउने ।
स्थानीय एक समाजसेवीले दिएको जानकारी अनुसार वडा अध्यक्ष मनोज गुप्ताको रोहबरमा बलात्कारको प्रयास गर्ने स्थानीय सन्दिप साकानु, (वडा अध्यक्षको आफन्त) नागा दास, सुभास दास, उमेर दास र नरेश दास बुधबार प्रहरी कार्यालयबाट तारिखमा छुटेका थिए । हिजो शनिबार बसेको पञ्चायतले उनीहरुलाई पाँच दिन मन्दिर सफा गराउने सजाय तोकेको हो ।
शनिबार वडा अध्यक्ष गुप्ताको अगुवाईमा सीमा प्रहरी चौकी छपैया अगाडि रहेको शुरेस सातेलीको घरको छतमा पञ्चायत बसेको बताइएको छ । पीडित युवतीका बुबा र पाँचै जना केटाहरुका बुबासहित बसेको पञ्चायतले गाउँमै भएको घटनालाई गाउँमै मिलाउने, प्रहरी कार्यालय वा अन्त कतै कुनै खालको उजूरी नगर्ने, उजूर गरे सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ । पञ्चायतको निर्णय वडा अध्यक्षको रजिष्टरमा स्थानीय लेखनदास राजन साहले लेखेको पनि थाहा भएको छ ।
गएको शनिबार फागुन १० गते बेलुकीपख आफ्नै गहुँ बारीमा दिसा गर्न गएकी २२ वर्षीया युवतीलाई पाँच जना केटाहरुले बलात्कार प्रयास गरे । बलात्कारको प्रयास असफल भएपछि दुई जनाले धम्काउदै, तान्दै, लछारपछार गरे र तीन जनाले भिडियो खिचे । यदि यो घटना बसैलाई भने भिडियो सार्वजनिक गरिदिने धम्की दिए ।
तर जति धम्की दिए पनि युवतीले घटना सार्वजनिक गरिन् । स्थानीय केही अगुवाको साथमा आमालाई बोकेर जिल्ला प्रहरी कार्यालय पुगिन् । र जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तलाई सुनाइन् ।
अत्यन्तै गरिव परिवारकी युवती पढेलेखेकी छैनन् । यो घटना अरुलाई भने, कानूनी कार्वाही गरे बिहे नहुने, ज्यानको खतरा हुने, आमाबुबालाई समाजबाट बहिष्कार गरिदिने चेतावनी आरोपितले दिएपछि युवती र उनका आमाबुबा लाजले घरबाट निस्कन नसकेको बताइएको छ ।
एसपी पन्तकै पहलमा मंगलबार आरोपितलाई पक्राउ गरियो । तर वडा अध्यक्ष गुप्ताले केटीले भनेजस्तो बलात्कार प्रयासको घटना नभएको, अरु केटासंग बसेको देखेपछि चिनजानका केटाहरुले यसो किन गरेको भन्दै हप्काएको बताए । घटनाको चौथो दिनसम्म उजूरी नआएपछि प्रहरीले आरोपितलाई तारिखमा रिहा गर्यो र वडा अध्यक्षले जिम्मा लिए ।
अत्यन्तै गरिव परिवारकी युवती पढेलेखेकी छैनन् । यो घटना अरुलाई भने, कानूनी कार्वाही गरे बिहे नहुने, ज्यानको खतरा हुने, आमाबुबालाई समाजबाट बहिष्कार गरिदिने चेतावनी आरोपितले दिएपछि युवती र उनका आमाबुबा लाजले घरबाट निस्कन नसकेको बताइएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तले आफूलाई घटनाबारे विस्तृतमा जानकारी नभएको र उजूरी नै नआएपछि आरोपितलाई हिरासतमा राखिराख्न नमिलेको बताइन् । यदि युवतीमाथि दुव्र्यवहारको घटना हो भने आफूले कुनै हालतमा नछोड्ने बताइन् ।
वडा अध्यक्ष मनोज गुप्तालाई यसबारेमा आइतबार दिनभर बुझ्न खोज्दा उनको मोबाइल नम्बर ९८४५०२०२७१ मा फोन सम्पर्क हुन सकेन ।