बागलुङ- बागलुङ बजारमा कोरोना भाइरसको महामारीबाट बच्नको लागि निःशुल्क माक्स वितरण गरेको छ । स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङ र क्षत्री समाज बागलुङले संयुक्त रुपमा आईतबारदेखि निःशुल्क माक्स वितरण सुरु गरेको सहकारीका प्रबन्धक दुर्गा केसीले जानकारी दिए । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि बागलुङ बजारमा माक्सको अभाव बढ्दै गएपछि निःशुल्क रुपमा माक्स वितरण गरिएको प्रबन्धक केसीले बताए । उनले स्थानियस्तरमै उत्पादन गरिएको कपडाको माक्स खरिद गरि पहिलो दिन बजारको लोकतान्त्रीक चोकबाट वितरण सुरु गरिएको बताए ।
सहकारीले तीन दिनसम्म ३ हजार निःशुल्क माक्स वितरण गरिने क्षत्री समाज बागलुङका कोषाध्यक्ष धन बहादुर कार्कीले बताए । ‘देशमा कोरोना भाइरसको जोखिम पूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि प्रतिव्यक्ति १ वटाका दरले माक्स वितरण गर्ने योजना बनाएका हौं’ कोषाध्यक्ष कार्कीले भने । उनले ७० हजार रुपैयाँ लागतमा ३ हजार माक्स खरिद गरि विक्रि गर्न लागेको बताए । बागलुङ नगरपालिका नगरप्रमुख जनकराज पौडेलले एक वृद्धलाई माक्स वितरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । आईतबार पहिलो दिन १ हजार ५ सय माक्स वितरण गरेको संस्थाले जनाएको छ ।