समय, भाग्य र जिन्दगी बिच
त्रिकोणात्मक खेल चलिरहन्छ
घरि छक्काउन खोज्छन् एक-अर्कालाई
घरि भेट्टाउन खोज्छन् एक-अर्कालाई
घरि उछिन्न खोज्छन् एकअर्कालाई
घरि उधिन्न खोज्छन एक अर्कालाई
कहिले कसको जित
कहिले कसको हार ।
संघर्षको जर्सि लगाएर
जङ्गको मैदानमा जब उत्रिन्छ मान्छे
कहिले भाग्यले बेस्सरी पछार्न खोज्छ
जिन्दगीले जबर्जस्त `डिफेन्ड´ गर्छ
कस्सो-कस्सो समयले साथ दिन्छ
टर्छ पराजयको`पेनाल्टि´
अनि मुस्कुराउछ खेलाडी
प~र बसेर `उर्जा´ले थपडी मार्छ
`आत्मविश्वास´ले इन्क्लाब गर्छ
`हौसला´ले तक्मा बोकेर आउछ ।
तर कहिले फेरि
`समय´ले झेलि गर्छ
त्यहिबेलै भाग्यले `कर्नर´ हान्छ
`पुर्पुरो´ परास्त हुन्छ
`अहम् ´ले अझै इन्कार गर्छ
`उत्साह´ घाइते-घाइते हुन्छ
`लक्ष्य´ चुक्छ र गन्तव्य भन्दा `आउट´ हुन्छ
`सपना´ले रातो झन्डा देखाउछ
हार बेहोर्छ जिन्दगी
खालि मैदानमा
`जिजिविषा´ले भुइँमा बेस्सरी टाउको बजार्छ
`ईज्जत्´ को इगोले खुच्चिङ गर्छ
खेलाडी बाहिरिन्छ
रणभूमिको रंगशाला बाट
घोँसे मुन्टो लगाएर
दर्फरिएका घुँडा र कुहिनाहरु मुसार्दै
अलि पर पुगेर
फिस्स हाँस्छ सम्झदै कि
खेल अझै सकिएको छैन…
सन्चो हुँदा-हुदै दुख्ने
फेरि दुख्दा-दुख्दै सन्चो हुने
हार्दा-हार्दै जित्ने
फेरि जित्दा-जित्दै हार्ने
हिड्दा-हिड्दै लड्ने
फेरि लड्दा-लड्दै उठ्ने
हाँस्दा-हाँस्दै रुने
फेरि रुँदा-रुँदै हाँस्ने
यहि लुकामारीमा
बितिजान्छ मानवचोला
कहिले धन्यवाद दिँदै समयलाइ
कहिले धारे हात लाउँदै भाग्यलाइ
कहिले धिक्कार्दै अाफैलाइ
कहिले सराप्दै अर्कालाइ ।
राधिका कल्पित
काठमाडौं ।