बिर्तामोड जेठ ८ गते । भारतमा लकडाउन खुकुलो बनाइएसँगै नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र पर्ने नेपालीको सङ्ख्या बढेको छ भने भारतबाट नेपाल भित्रिने नेपालीका कारण सीमा क्षेत्रमा कोरोना प्रकोपकाे जाेखिम बढेको छ ।
गत जेठ २ र ३ गते झापाको कचनकवल गाउँपालिकाका ९८ जना नेपाल भित्रिएका थिए । उनीहरूलाई विभिन्न स्थानीय विद्यालयमा अस्थायी क्वारेन्टाइनमा राखी पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना पोजेटिभ भेटिएको थियो । कचनकवलमा ठुलो सङ्ख्यामा कोरोना भेटिएसँगै झापाका प्रायः सबै स्थानीय तहले आआफ्नो बोर्डर सिल गरेका छन् । कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलका अनुसार कचनकवल गाउँपालिकाभित्रका मात्रै तीन हजार जना नागरिकहरू भारतमा रहेका छन् । हाल कचनकवल गाउँपालिकाका विभिन्न विद्यालयहरूमा अस्थायी क्वारेन्टाइनमा भारतीय सीमाबाट आउने नागरिकलाई राेकेर राखिएको छ । उनीहरूलाई दैनिक खानेकुरा दिन र उनीहरूको भरपर्दो कोरोना परीक्षण गर्नका लागि आवश्यक किटको समेत अभाव छ ।
यता झापामा कोरोना देखिएको बाह्रदशी गाउँपालिकामा समेत कोरोनाको उच्च जोखिम रहेको छ । एक सय ३० जनामा गरिएको पिसिआर परीक्षणमा एक जनाको मात्रै पोजेटिभ आएपछि केही सहज भएपनि पछिल्लो समय भारतबाट समेत अत्यधिक नागरिकहरू नेपाल भित्रिन थालेपछि गाउँपालिकाले आफैँ पिसिआर र आरडिटी खरिद गर्ने निर्णय गरेको बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार दाहालले बताउनुभयो । बाह्रदशी गाउँपालिकामा केही दिनभित्रै १५० जना अट्ने क्वारेनटाइन बनाउन तयारी थालिएको दाहालले बताउनुभयो ।
यता भारतसँग सीमा जोडिएको झापा गाउँपालिका क्षेत्रमा दिनहुँ भारतबाट नेपाल भित्रिने सङख्या बढेसँगै सीमा क्षेत्रमा अलपत्र पर्नेको सङ्ख्या बढेको छ । दुई दिनभित्र मात्रै यस नाकाबाट ७१ जना नेपाली भारतबाट नेपाल भित्रिएका छन् । उनीहरूलाई झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, अमरसिंह प्रावि, झापा लगायातमा राखिएको छ । उनीहरूकाे पिसिआर चेक गरेर आआफ्ना पालिकामा रहेका क्वारेन्टाइनमा राखिने झापा गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत प्रेम न्यौपानेले बताउनुभयो । भारतीय क्षेत्रमा रेल सेवा सुचारु गरेसँगै भारतीय सरकारी गाडीले नेपालको सीमासम्म नेपाली नागरिक ल्याएर छाड्ने गरेको नेपाल भित्रिएका नागरिकले बताएका छन् ।
यता प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले अबको १५ दिनभित्र भारतमा रहेका झापाका मात्रै २० हजार नागरिक भित्रिने बताउनुभएको छ । उनीहरूलाई लामो समयसम्म सीमा क्षेत्रमै राख्दा थप जोखिम बढ्ने भन्दै उनीहरूलाई सुरक्षित तरिकाले नेपालका क्वारेन्टाइनसम्म ल्याइने र झापा र उदयपुरमा समेत थप आइसाेलेसन वार्डको स्थापना गरिने मन्त्री घिमिरेले बताउनुभएको छ । भारतबाट आफ्ना नागरिक ल्याइसकेर तेस्रो मुलुकबाट समेत आफ्ना नागरिक ल्याइने मन्त्री घिमिरेले बताउनुभयो ।
भारतबाट दुई दिनभित्र मात्रै भारतबाट झापाभित्र छ सय जना नागरिक भित्रिसकेका छन् । उनीहरूलाई कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, भद्रपुरको मेची बहुमुखी क्याम्पस, बिर्तामोडको कञ्चनजङ्घा इन्स्टिच्युट दमकको मानसरोवर कलेज, कचनकवलको लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी प्रावि र महेन्द्ररत्न माविमा राखिएको छ ।
नेपाल भारत सीमा क्षेत्रमा नेपालतर्फमा जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षा व्यावस्था मिलाएसँगै भारतीय क्षेत्रमा सजिलै आएका नेपालीहरू नेपाली सीमामा थुनिने गरेका छन् । उनीहरूलाई नेपालतर्फका विभिन्न पालिकाका सवारीले आफ्नो पालिकामा ल्याउने गरेका छन् ।
झापामा केही दिनदेखि खाद्यान्न लगायतका पसलहरू केही घण्टा खुलेर बजार खुकुलो बनाइएको भएपनि कोरोना सङ्क्रमण बढेसँगै सबै १५ वटै स्थानीय तहले बजार लगायतका उद्योग कलकारखाना बन्द गर्न सूचना जारी गरेका छन् । जिल्लाभर प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
यता जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै झापाका अग्रभागमा रहेर रिपोर्टिङ गर्ने २५ जना पत्रकारको समेत प्रदेश सरकारको संयोजनमा पिसिआर परीक्षण गरिएको छ । पत्रकार महासंघ, झापाको कार्यालयमा पत्रकारको पिसिआर परीक्षण गरिएको पत्रकार महासंघ, झापाका अध्यक्ष तारामणि सापकोटाले बताउनुभयो ।