काठमाडौंको तीनकुने सुविधानगरकी महिलामा कोरोना संक्रमण

बिहीवार काठमाडौंमा थपिएका दुई जना कोरोना संक्रमितमध्ये एक जना महिला रहेको खुलेको छ जो तीनकुनेकी हुन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा स्थायी रुपमा बस्दै आएकी महिलामा कोरोना संक्रमण देखिएको हो। कोरोना पुष्टि भएपछि अहिले पाटन अस्पतालमा लगिएको ३२ नम्बर वडाका सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिए।

‘उहाँलाई अस्पताल लगिसकिएको छ। उहाँसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु हुँदैछ,’ वडा सदस्य न्यौपानेले भने।

संक्रमित महिला एक स्वास्थ्य सम्बन्धी गौरसरकारी संस्थामा काम गर्दै आएकी थिइन्। उनी स्वास्थ्य सम्वन्धि कामले दुई साताअघि नेपालगञ्ज पुगेर फर्केको खुलेको छ।

‘१५ दिन अगाडि नेपालगञ्ज गएर आउनु भएको रहेछ। त्यहीँबाट कोरोना संक्रमण भएको कि भन्ने हो,’ न्यौपानेले भने।

काठमाडौं फर्किएपछि स्वास्थ्यमा समस्या देखियो र उपचारका लागि उनी अस्पताल पुगेकी थिइन। अस्पतालमा स्वाब परीक्षण गरिएपछि उनमा कोरोना देखिएको थियो। काठमाडौंमा अन्य मानिसमा पनि कोरोना संक्रमण देखिएको भए पनि सबैको पहिचान लुकाइएको छ।

दुई दिन अघि काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बालुवाखानीमा कोरोना संक्रमण भेटिएका पुरुष खाद्यान्नको होलसेल व्यापारीमा समेत कोरोना भेटिएका थिए। उनी कपनको बालुवाखानीमा होलेसेल पसल चलाउँदै आएका व्यक्ति हुन्। केही कामदार समेत राखेर उनले पसल चलाउँदै आएका थिए।

त्यस्तै, केहीदिन अघि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका बस्ने एक पुरुषमा कोरोना देखिएको थियो। उनी १० दिनअघि मात्र भारतमा उपचार गराएर फर्किएका थिए। Source: Pahilo Post

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →