स्वर्णिम चाँदनी
बाकसभरि राखेर केही थान प्रमाणपत्र
जीवनको आधाबाटो हिडे पछि
म सोचिरहेछु
कोरा कागजमा रंग भर्नु छ
काचो माटोलाई आकार दिनु छ
म मेरै ज्ञानको सीमानामा
म मेरै कर्मको देउरालीमा
सेतै चेतेनाको वीउ छर्न
सेतै धुलो उडाउँदै ब्रम्हज्ञानको
मलाई मष्तिस्कहरुको सुन्दर घर बनाउनु छ
त्यहिको घरको धुरी हाल्न
बालुवामा सुनका कणहरू खोज्न सिकाउनु छ
आत्म चेतनाका बारीभरी
म अक्षरहरुको वीउ रोपिरेकी छु
उम्रने छ वीउ
बन्नेछ भोलि एउटा ठूलो बोधिवृक्ष
त्यहि फेदमा बसेर
असंख्य शिद्घार्थहरु वोधिसत्व प्राप्त गर्नेछन्
बनाउनेछन् जिन्दगी वुद्घमय
कहिलेकाहिँ देख्छु
कहिलेकाहिँ सुन्छु
दिनभर धुम्रपान नगर्नु भनी सिकाएर पठाएको शिशुहरुलाई
साझ चुल्होमा चुरोट सल्काउन सिकाइन्छ,
दिनभरि ज्ञानको सपना बोक्ने झोलामा,
बेलुकी पख मदिरा वोकाइन्छ
कहिले मेरै आत्म चेतनाको परिधिबाट फुत्त निस्केर
मेरा शिशुहरु जिस्काउँछन्
मेरो चेतना र मेरा प्रमाण पत्रहरुलाई
मलाई हस्तान्तरण गर्नुमात्र छैन प्रमाणपत्रहरु
मलाई दिनु छ
ती शिशुहरुलाई
सूर्यले जस्तै शक्ति निकाल्न सक्ने तत्त्वज्ञान
पानीले जस्तै शक्ति निकाल्न सक्ने तत्त्वज्ञान
हावाले जस्तै सबैलाई समानता गर्न सक्ने क्षमता
माटोले जस्तै जीवन संचालन गर्न सक्ने कला
मलाई देखाउनु छ सपना
सुदुर र सुन्दर भविश्यको
मलाई उठाउनु छ धरतीमा
सभ्यताको सगमाथा
चिनाउनु छ कर्मको देउराली
नभागोस् मेरो समय
बाटो छोडेर र माटो छोडेर ।