म त्यसै विदेशिएको होइन !
घर वरिपरिको त्यो हरियाली,
कुलो, कुलेसो र खोल्सो,
अमृत बग्ने खोलो,
स्वच्छ हावापानी र मौसम,
मोती उम्रने खेतका गह्रा,
र सिरको पहाड छोडेर,
झोला बोकेर म-
त्यसै विदेशिएको होइन !!!
छिमेकी सुकिलो भएर आयो,
साथीले समुद्रमा मस्ती गरेको फोटो हाल्यो,
पल्लो घर दाइको छोरो आउँदा,
टोलभरी बाजा बज्यो,
खानेले खाए,
रमाउने रमाए,
दुई दिन भएनी उसको पूजा गरियो,
जता गएनी उसकै तारिफ सुनियो !!
सोचे,
यो गाउँमा बसेर के हुन्छ ?
घरले नामर्द भन्ला भन्ने डरले,
समाजले लफङ्गो बनाउला भन्ने डरले,
आफ्नो पढाइ बिचमै छाडेर,
हातको कोदाली फुत्त फालेर,
इज्जत कमाउन,
म हिंडे !
मैले अरबका मरुभूमिमा सहर बसाए,
जापानमा आर्थिक उन्नति दिए,
सिङ्गापुरलाई विशेष बनाए,
फ्रान्सलाई औद्योगिक तुल्याएँ,
बेलायतलाई युद्ध जिताए,
बहादुर म, भारतको इज्जत जोगाए,
र पनि मेरो गाउँ,
उस्तै को उस्तै छ,
खासमा, मै जस्तै छ,
सास फेरेर पनि उ निश्प्राण छ !!
अर्काको मानोले भकारी भरिन्न रैछ,
अर्काको मायाले प्यास मेटिन्न रैछ,
भ्रमले भरिपुर्ण भएको म,
श्रमले निपुर्ण भैसक्दा,
उमेर गुज्रियो,
आज न देशले डाक्न सक्छ,
न परदेशले राख्न सक्छ,
बुढेसकालको आश छ,
नेपाली मन, परदेशको बास छ,
त्यो दिनको याद छ!
र अझै भन्छु,
झोला बोकेर म-
त्यसै विदेशिएको होइन !!!
मन खत्री (सागर )
२०७७-३-१९