छोएर सिक्न खोज्छ ऊ
नछोऊ नछोऊ पोल्छ भन्दै हकार्छौ हामीले ।
हिँडेर बुझ्न खोज्छ ऊ
नजाऊ नजाऊ लडिन्छ भनेर रोक्छौँ हामीले ।
चाखेर बुझ्न खोज्छ ऊ
मुखमा नहाल भन्दै थर्काउछौँ हामीले ।
हेरेर बुझ्न खोज्छ ऊ
आबुई ! हाउगुजी – हाउगुजी भन्दै तर्साउछौँ हामीले ।
कस्तो हाउगुजी शिक्षा दिइरहेछौँ हामीले
छुन खोज्यो कि – हाउगुजी
हेर्न खोज्यो कि – हाउगुजी
हिड्न खोज्यो कि – हाउगुजी
जान्न खोज्यो कि – हाउगुजी ।
पानी नछोइ कसरी थाहा पाओस् उसले
तरल हो कि ठोस भनेर !
आगो नछोइ कसरी जानोस् उसले
चिसो छ कि तातो भनेर !
नचाखि कसरी थाहा पाअोस् उसले
पिरो / तीतो छ कि टर्रो भनेर !
नलडि कसरी थाहा पाओस् उसले
ऐया र आत्थाको अर्थ के हो भनेर ?
कस्तो हाउगुजी सिकाई हो यो ?
बोली नफुट्दै आमाले सिकाएका हाउगुजीहरु
समाजले सिकाएका हाउगुजीहरु
धर्म र सस्कृतिले सिकाएका हाउगुजीहरु
घरभित्र बिग्रिन्छ र भत्किन्छ भन्ने हाउगुजी
विद्यालयमा परिक्षा र पास-फेलको हाउगुजी
जागिर खाँदा अन्तरवार्ता र तलबको हाउगुजी
कार्यस्थलमा बढुवा र सरुवाको हाउगुजी
बेफ्वाँकका हाउगुजीहरुले गाँजिरहेछन्
ग्रहणले सुर्यलाई अठ्याए जस्तै
हाउगुजीका हर्क्युलस जत्रा त्रासदीले
थुनिरहेछ वायुमण्डललाई बेलुनभित्र
गमलामा साँघुराइएको पिपलको रूख जस्तो
मास्टरको टेबलमा सजाइएको ग्लोबजस्तो
हाउगुजीले खिचेका `मिनिमाइज्ड म्याप´ देखाएर
पढाइरहेछौ आउटडेटेड थ्योरीहरु
यिनै हाउगुजीले मारिरहेका छौँ
हजारौँ आइन्स्टाइनहरुलाई
यिनै हाउगुजीले निमोठिरहेछौँ
जन्मन नपाउँदै महावीर पुनहरुलाई
यिनै हाउगुजीले रोकिरहेछौँ
उज्यालो लिन निस्केका मलालाहरुलाई
यहि हाउगुजीका विद्यालयहरुमा थुनिरहेछौँ
निहारीका निहार्न खोज्ने
डार्विन र ग्यालिलियोहरुलाई … !
-राधिका कल्पित / काठमाडौं