काठमाडौं उपत्यकामा फेरि लकडाउनको सम्भावना बढ्यो, लकडाउन गर्नु कति उचित होला ?

कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् ।

कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता सहायक जिल्ला अधिकारी तुल्सीराम पौडेलले बन्दाबन्दी वा निषेधाज्ञाको विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘अहिलेकै अवस्थामा बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्न जरुरी छैन,’ उनले थपे, ‘मङ्गलबारबाट समूहगत हिँड्डुल, सामाजिक तथा भौतिक दूरी कायम राख्ने कार्यमा कडाइ गरिनेछ ।

सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य गरिएको छ ।’

सवारी सञ्चालनमा जोर-बिजोर, मास्क र सेनिटाइजरको सही प्रयोग, होटल तथा रेस्टुराँ, चियापसल, पार्टी प्यालेस, पसल, सुपरमार्केट, सार्वजनिक स्थानमा सर्वसाधारणको उपस्थिति तथा भीडभाडलाई यसअघि नै पूर्ण रूपमा निषेध गरिएको छ ।

तर, उपत्यकावासी मास्कसमेत प्रयोग नगरी सडकमा निस्कने, बिहे, जन्म दिन, धार्मिक चाडपर्वका नाममा आफन्त साथीभाइ जम्मा पारी समूहगत भोज भतेर र पार्टी गर्न थालेपछि कोरोना सङ्क्रमणको समस्या थपिएको भनाइ स्थानीय सुरक्षा अधिकारीको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रतिकार्य योजना अनुसार लागू गरिएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड सर्वसाधारणले पालना गरे नगरेको तीनवटै जिल्ला प्रशासन कार्यालयबाट नियमित अनुगमनसमेत हुने गरेको छ ।

अनुगमनबाट अधिकांश नागरिकले लापरबाही तथा हेलचेक्र्याइँ गरेको पाइएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सम्झाइबुझाई गर्दा पनि अटेर गर्नेका कारण कोरोना फैलिएको बताए ।

‘जोखिमको बेला सडकमा सुरक्षाकर्मी खटाएर नियन्त्रण गर्छुभन्दा पनि सम्भव छैन, शान्तिसुरक्षा तथा कोरोना रोकथाम प्रतिकार्य सुरक्षामा खटिएका सुरक्षाकर्मी नै सङ्क्रमित बन्दै गएको बेला आमनागरिकले आफ्नो सुरक्षाका लागि घरमै बन्दाबन्दी बस्नुबाहेक अन्य विकल्प छैन,’ उनले भने ।

उपत्यकामा प्रतिदिन झण्डै १५० जनाको हाराहारीमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव सुरक्षा निकायको छ ।

‘काठमाडौं उपत्यकाको नाका तथा टोल सिल गरेर मात्र नियन्त्रण सम्भव छैन,’ उनले भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमण देखिएका स्थानीयवासीलाई अति जरुरी कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरे । अटेरका कारण सङ्क्रमण बढेको स्पष्ट पार्दै उनले स्थानीय तहले पनि निषेधाज्ञा जारी गर्न सक्ने बताए ।

महानगरपालिकाले सङ्क्रमण देखिएका टोल, गल्ली र बस्तीमा सिल गर्न तथा मास्क प्रयोग र सरसफाइका बारे सर्वसाधारणलाई सचेत गराउन निर्देशन दिएको छ ।

सङ्क्रमणको अवस्था हेरी महानगरपालिका, नगरपालिका र वडामा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।

चितवनमा सशस्त्र प्रहरीका ४२ जना सहित ४६ जनामा कोरोना सङ्क्रमण

चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ ।

उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो ।

साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो । नौ जनालाई ज्वरो आएकामा निको हँुदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताउनुभयो । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उहाँले जानकारी दिनुभयो ।

सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →