काठमाडौं । युटुबबाट सार्वजनिक गरिएको एक म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान शुरु गरेको छ ।
मंगोल होप नेपाल नामक युट्युब च्यानलबाट जातीय द्वेष फैलाउँदै राष्ट्रिय झण्डासमेत जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएलगत्तै संलग्नहरुको खोजी सुरु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो ।
प्रवक्ता कडायतका अनुसार भिडियोमा देखिएका र त्यसको निर्माण पक्षमा सहभागी सबैको खोजी तीब्र पार्न देशभर सर्कुलर जारी गरिसकिएको छ ।
मुलुकी अपराध संहिता ऐनअनुसार राष्ट्रिय झण्डा जलाउने वा प्रयोग गर्नै नमिल्ने ठाउँमा प्रयोग गरिए र जातीय द्वेष फैलाउने कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
यसबाहेक भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न दलका शीर्ष नेताको पनि तस्बीर जलाइएको छ ।
प्रहरीले यसलाई गम्भीरताका साथ लिएको भन्दै संलग्नमाथि कानूनी व्यवस्था बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
यस्तै नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् ।
‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु यहाँ उल्लेख गर्न लायक पनि छैनन् । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ ।
र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ ।
युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।
मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।
राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’