नेपालको झन्डा जलाउने गीतको टिमका क्यामेरा म्यान पक्राउ, बाँकीको खोजी जारी

काठमाडौं । राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने एक युवा पक्राउ परेका छन् ।

जात, धर्म र राष्ट्रियताविरुद्धको भिडियो बनाएको आरोपमा ‘क्यामेराम्यान’ लाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो । उनी हालै युट्युबमा राखिएको म्युजिक भिडियोका ‘क्यामेराम्यान’ रहेको प्रहरीले जनाएको छ ।

भिडियोबारे प्रहरीलाई जानकारी भएपछि प्रहरीले खोजि गरेको महाशाखाका प्रबक्ता ईश्वर कार्कीले बताए । उनका अनुसार गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।

उक्त भिडियो सोमबार एक युट्युव च्यानल मार्फत अपलोड भएको थियो । ‘देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीले जानकारी पाएको थियो ।

भिडियोमा गायक तामाङले झण्डा जलाएका छन् भने जातिमाथि अभद्र शब्द प्रयोग गरेका छन् । उक्त भिडियो मकवानपुरको एक विद्यालयमा सुटिङ गरिएको थियो । प्रहरी भिडियो डिलिट गर्ने जनाएको छ ।

प्रवक्ता कडायतका अनुसार भिडियोमा देखिएका र त्यसको निर्माण पक्षमा सहभागी सबैको खोजी तीब्र पार्न देशभर सर्कुलर जारी गरिसकिएको छ ।

मुलुकी अपराध संहिता ऐनअनुसार राष्ट्रिय झण्डा जलाउने वा प्रयोग गर्नै नमिल्ने ठाउँमा प्रयोग गरिए र जातीय द्वेष फैलाउने कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ।

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु यहाँ उल्लेख गर्न लायक पनि छैनन् । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ ।

र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ ।

युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →