काठमाडौं । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेकाे छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँ थियो । यस्तै शुक्रबार तेजावी सुन प्रति तोला ९६ हजार ४ सय रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९६ हजार ७ सय रूपियाँमा काराेकार भइरहेकाे छ ।
शुक्रबार चाँदीको मुल्य १ हजार ३ सय ४० मा काराेबार भएकाे थियाे भने अाज चाँदीकाे मूल्य १ हजार ३ सय ४० रूपियाँमा काराेबार भइरहेकाे छ ।
यो पनि ,
विदेशबाट आएका नेपाली होटल क्वारेन्टिनमा बस्दै, ७ दिन बस्नुपर्ने प्रावधानले होटललाई केही राहत
दोस्रो चरणको उद्वार उडान सुरु भएपछि काठमाडौंका तारे होटलमा क्वारेन्टिनमा बस्नेको संख्या बढ्न थालेको छ। यसले कोरोना संक्रमणसँगै बन्द रहेका होटल पनि संचालनमा आउन थालेका छन्।
विदेशबाट फिर्ता भएका नेपालीलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान ल्याएपछि काठमाडौंका तारे होटलको अकुपेन्सी बढेको हो।
सरकारको यो निर्णयले विगत ६ महिनादेखि आम्दानी शून्य रहेका होटललाई केही राहत भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार नजिकको होटल एयरपोर्टलेले यतिखेर उद्वार उडानमार्फत आएका ७० जना पाहुना क्वारेन्टिनको सेवा दिँदै आएको जनाएको छ।
विभिन्न मुलुकबाट उद्वार उडानमार्फत स्वदेश फर्किएका यात्रुले प्रवेशद्वार नजिका होटलहरूमा क्वारेन्टिनका लागि सेवा लिँदै आएको होटल व्यवसायी विनायक शाहले बताए।
‘स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै हामीले पाहुनाहरुलाई क्वारेन्टिन सेवा दिँदै आएका छौं।
अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खाना, बसोबास, नियमित स्वास्थ्य परीक्षणको सेवा दिइरहेका छौं,’ उनले भने।
अहिले उद्वार उडानबाट आएका प्राय: यात्रुले होटल क्वारेन्टिन सेवा लिँदै आएको होटल संघ नेपालका महासचिव साजन शाक्यले बताए। ‘पछिल्लो समय विदेशबाट आएका यात्रु होटल क्वारेन्टिनमा बस्दै आएका छन्। मंगलबार दुईवटा उडानमार्फत आएका एक सय ६१ यात्रुमध्ये प्राय सबै होटल क्वारेन्टिन बसेको विवरण प्राप्त भएको छ,’ महासचिव शाक्यले भने।
सरकारले क्वारेन्टिन सेवा दिन निर्देशन दिएसँगै व्यवसायीले होटल संचालनको अवसर पाएको उनले बताए। ‘संस्थागत सामाजिक उत्तरदायित्वमा केन्द्रित रही राज्यका लागि हामीले यो सेवा दिँदै आएका छौं।
यसमा हाम्रो मुख्य उद्देश्य भनेकै स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै संक्रमण नियन्त्रण गर्नु हो,’ उनले भने।
सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजाले यतिखेर पाँचवटा कोठा क्वारेन्टाइन प्रयोजनमा राखेको जनाएको छ।
विभिन्न संस्था, व्यक्ति लगायतमार्फत होटलले क्वारेन्टिन सेवा दिँदै आएको कम्पनीका उपाध्यक्ष सुदर्शन चापागाईँले बताए। विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र इन्टर कन्टिनेन्टल होटल्स ग्रुप(आइजिएच)द्वारा जारी गरिएको स्वास्थ्य सुरक्षा निर्देशिका अवलम्बन गर्दै कम्पनीले होटल क्वारेन्टिन सेवा दिएको उपाध्यक्ष चापागाईँले जानकारी दिए।
कम्पनीले क्वारेन्टिनमा रहेका पाहुनाको नियमित स्वास्थ्य परीक्षणका लागि स्टार हस्पिटलसँग सहकार्य गर्दै आएको चापागाईँले बताए।
उनका अनुसार बैंक, वित्तीय संस्था र विदेशबाट आएका यात्रु लगायतको प्रस्ताव अनुसार होटलले क्वारेन्टिन सेवा दिँदै आएको छ।
केजिएच ग्रुप अन्तर्गत बुढानिलकण्ठको पार्क भिलेजले अमेरिकाबाट नेपाल फर्किएका, युनिसेफका कर्मचारी लगायतलाई होटल क्वारेन्टिनको सेवा दिएको छ। होटलले क्वारेन्टिनको सेवा निरन्तर दिँदै आएको कम्पनीकी कार्यकारी निर्देशक अमृताञ्जली शाक्यले बताइन।
‘क्वारेन्टिन सेवा निरन्तर दिँदै आएका छौं।
विभिन्न संघ संस्था, विदेशबाट आउनुभएका पाहुनालाई क्वारेन्टिन सेवा दिँदै आएका छौं। विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका अवलम्बन गर्दै पाहुनालाई सेवा दिँदै आइएको छ,’ उनले भनिन्।
यतिखेर ठमेलमा रहेका होटल क्वारेन्टिनमा उद्धार उडानमार्फत नेपाल आउने यात्रु फाट्टफुट्ट आउन थालेको ठमेल पर्यटन विकास बोर्डले जनाएको छ। क्वारेन्टिन बस्ने यात्रु आउन थालेको बोर्डका महासचिव ध्रुव अधिकारीले बताए।
सरकारले होटल क्वारेन्टिन सेवाका लागि काठमाडौंका दुई सय २० वटा होटलसँग सम्झौता गरेको थियो। उद्धार उडानमार्फत कूटनीतिक र वैदेशिक रोजगारबाट फर्कने यात्रुको संख्या प्रतिदिन पाँच सय जना हाराहारी छ।
कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सरकारले काठमाडौं अवतरण भएका यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टाइनमा बसेपछि पिसीआर रिपोर्टका आधारमा सम्बन्धित क्षेत्रमा जान पाउने प्रावधान बनाएको छ।