नेपालमा मात्रै हैन् विश्वभर कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन छ ।
तर, ललितपूरमा भने रातो मत्स्येन्द्रनाथको रथ यात्रा भन्दै हुलका हुल भिड बनाएर कोरोना संक्रमण फैलिन जोखिम गरिरहेका स्थानीयले प्रहरीमाथि निर्घात कुटपिट गरेका छन् ।
ललितपूर जिल्ला प्रशासनले नै रथ यात्रामा रोक लगाउँदा पनि स्थानीयहरुले रथ तानेका थिए ।
उपत्यकामा बढ्दो संक्रमणकाबीच झनै संक्रमण फैलिने भन्दै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए ।
यसबीच रथ तानिरहेका ललितपूरका स्थानीयहरुले प्रहरीमाथि आक्रमण गरेका हुन् । सोही क्रममा एक हुल युवाको समुले ड्यूटीमा खटिएका प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेका हुन् ।
जनताकै लागि सेवामा खटिएका प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।
त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।
महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको र दोषीलाई पत्ता लगाएर कार्बाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले जनाएको छ ।
ज्यापु समाजले भन्यो– अराजक समूहले मच्छिन्द्रनाथको रथ तान्न खोज्यो
ज्यापु समाजले आफ्नो र स्थानीय प्रशासनको अनुमतिविनै केही अराजक समूहले रातो मच्छिन्द्रनाथको रथ तानेको बताएको छ ।
बिहीबार दिउँसो बसेको समाजको बैठकले अनुमतिविनै पुल्चोकमा रथ तानिएको विषयमा आपत्ति समेत जनाएको छ ।
समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार केही अराजक व्यक्तिले रथ तानेका कारण रथको सुरक्षाका लागि ५ सय जना स्वयंसेवक परिचालन गर्ने निर्णय समेत भएको जानकारी दिए ।
‘यो महामारीको अवस्थामा हामीले छोटो विधि अपनाएर प्रशासनको अनुमति मै रथ तान्ने भनेका थियौं,’ ज्यापु समाजका अध्यक्ष महर्जनले भने, ‘तर वैठक बस्नुभन्दा पहिले नै केही उत्श्रृंखल तथा अराजक व्यक्तिको समूहले रथ तानेको हाम्रो ठम्याइ छ ।’
अध्यक्ष महर्जनका अनुसार रथ यात्राका विषयमा आवश्यक निर्णय गर्न समाजको बैठक अहिले पनि चलिरहेको छ ।
तर, बिहीबार बिहानै केही स्थानीय युवाहरुले ललितपुरको पुल्चोकमा रहेको मच्छिन्द्रनाथको रथ तान्न खोजेको थिए ।
कोरोना संक्रमणको जोखिम कम गर्न जारी गरिएको निषेधाज्ञाको उल्लंघन गर्दै रथ तान्न थालिएपछि प्रहरीले रोकेको थियो ।
प्रहरीले रथ तान्न रोकेपछि पुल्चोकमा रथ तान्न गएका स्थानीय र प्रहरीबीच केही समय झडप समेत भएको छ ।
रथ तान्न गएका युवाहरुले प्रहरीको एउटा उम्बुलेन्स जलाइ दिएका छन् भने गाडीमा समेत तोडफोड गरेका छन् ।
रथ तान्न गएकाहरुले प्रहरीमाथि ढुङ्गा मुडा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो । रथ तान्न गएकाहरुले हानेको ढुङ्गा लागेर १ जना ट्राफिक प्रहरी घाइते भएका जनाइएको छ ।