~डा. विदुर चालिसे
भाेकले भाैंतारिएर सडकपेटीमा जीवन गुजारा गरिरहेकाे थिएँ । अर्काे माग्नेले मछेउ आएर मलाई खुब हपार्याे ।
–“खाते बुढा ! यहाँ त तँ बस्ने हाेइन । याे त मेराे आराम ठाउँ हाे, बुझिस् !”
म लुरूक्क परेर हातमा भएकाे बटुकाे, पुराना झ्याम्टा र एउटा लाैराे लिएर अर्कै ठाउँतिर लागेँ । उसले पनि मैले जस्तै उक्त बसेकाे ठाउँमा एक सानाे रूमाल बिछ्याएकाे थियाे । लाैराे तेर्स्याएकाे थियाे । आँखामा नक्कली कालाे चस्मा लगाएकाे थियाे र भनिरहेकाे थियाे ।
–“मालिक अलिकति पैसा !”
बाटाेमा ओहाेरदाेहाेर गर्नेहरू इच्छाले फलफुल, अछेता अनि केही पैसा फालिदिन्थे । म पर पुगेकाे भए पनि उसकाे दृश्य हेररहेकाे थिएँ । त्यहाँबाट उठेपछि मलाई किन हाे । रूमाल ओछ्याएर भीक मागिरहन इच्छा जागेन । मेराे मन किन किन अमिलाे भएर आयाे । माग्ने काम छाेडेपछि मेराे मन फर्किएर माग्दा माग्दै बचेकाे पैसाले पहिला चुराेट सुपारी बेच्न थालेँ । पछि, बिस्तारै फुटपाथमा साहुहरूकाे सहयाेगकाे सामानहरू उधाराेमा लिएर व्यापार गर्न पनि थालेँ । मेराे दिन बितेकाे पत्तै भएन, मलाई । अचेल खान दुख छैन । परिवार पनि जाेडेकाे छु । वर बन्दाेवस्त राम्रै छ । सन्ताेष लागेकाे बेलामा मन मनै विगतका दिनहरू फुर्न थाल्छ ।
–“बेकारमा मैले किन दुनियाँलाई माग्नकाे लागि नमस्कार गरेहुँला ! किन अनुनय विनय गरेर जाबाे माग्ने बन्न पनि हात जाेडेहुँला !”
विगतका यस्ता सम्झनाले कहिलेकाँही जीवन बारे रमाइलाे अनुभूति पनि हुन्थ्याे र आनन्द आउँथ्याे । धेरै समयपछि मैले भीक मागेकाे बाटाेकाे पेटी भएर काममा जानुपर्ने भयाे । उक्त बाटाे हिड्दै गर्दा साे स्थानमा मलाई लखेट्ने माग्ने अझै उभेकाे रहेछ । उसका अगाडि केही मान्छेहरू थिए । तीमध्ये कसैकाे हातमा माला, कसैकाेमा पुष्प गुच्छा त कसैकाे हातमा रूद्राक्ष थिए । उनीहरू त्याे मलाई लखेट्ने माग्नेलाई उत्साह, हाैसला र आदर गरेर भनिरहेकाे थिए ।
–“ल हजुरलाई बधाई छ !”
उसलाई सबैले बधाई दिएकाे देखेर एकछिन म त ट्वाल्ल परेँ । नजिकै राष्ट्रिय धुन बजिरहेकाे थियाे । तालकले हातकाे छडी हल्लाउँदै थिए । मलाई त्याे दृश्य देख्दा अचम्म लागेर आयाे । पछि अर्काेछेउकाे मान्छेलाई साेध्नपुगेँ ।
–“हैन हजुर याे के जात्रा हाे !”
उसले मलाई थर्काएर लम्किझम्की गर्याे र अब आयन्दा यस्ताे प्रश्न नगर्न सर्त गराएर भन्याे ।
–“थाहा छैन तँलाई ? संवैधानिक सलामी दिएकाे !”
–“लाै, याे लुटेरा माग्ने पनि मन्त्री ?”
–“हाम्राे अन्नदातालाई जे पायाे तेही भन्छस्, जिब्राे थुतिदिउँ ?”
मेराे हाेस हवास उड्याे । सुनेथेँ, आफ्नै आँगनमा समाजवाद आइसक्याे भनेर फुटपाथे ग्राहकहरू पनि भन्थे । त्यसपछि मैले पनि उसलाई सलामी दिन टक्क उभिएर भनेँ !
–“अब त इच्छा पुरा भयाे, हैन ?”
त्याे माग्नेले मतिर हेर्दा पनि हेरेन । मैले पनि पछि त्यसलाई खाेजिन ।