कविता – यात्रा पछिको जिवन ( परदेशीको पिडा)

बबिता गैरे

हरियो पासपोर्ट हातमा,
टिका अनि दोसल्ला,
उस्तै छ यो भेस।
फरक छ त केवल यो बिरानो परिवेश।

नानी,
मेरी छोरी भन्न नसकेका आमाका ती ओठ।
आँसु भुइँमा झर्न नदिने बाबाको त्यो कोट।
जब,
लगेज घसार्दै झरें एयरपोर्ट।
थिएन त्यहाँ केही,
लागेथ्यो सबै शुन्य।
थिए त केबल मनभरी गुम्सेका बिछोडका चोट।
त्यो बिरानो मुलुकमा,
लम्किए पाईला कोठा तिर,
सोफामा बसें सुस्केरा हालि।
हेर्दाहेर्दै,
गाउँकी चेली परदेशी भै यसपाली।
दुईचार दिनको रमाईलो घुमघाम,
गगनचुम्बी घर अनि समुन्द्र तिर।
रित्तिँदै गयो ल्याएको थैली,
लाग्न थाल्यो काम काे पिर।
जिन्दगी बन्यो रेफुजी,
अब कामको तलास।
हप्तामा चारदिन जानु पर्ने क्लास।
बल्लतल्ल,
काम पाइयो होटलमा बेड मिलाउने।
हप्तै पिच्छे कोठा भाडा,
खै?
कसरी दिलाउने।
खाई नखाई, सकी नसकी रेल भेट्टाउन कुद्दा।
साहुले अब निकाल्यो सोच्छु कहिले काँही छुट्दा।
बासी खाना लिएर हिड्यो, खायो।
खुशी नै छु तैपनि।
आफ्नै देशको मान्छे ले लुट्दा छक्कै परे मैपनी।
कहिले काँही बिदा मिलाई घुम्न भनी निस्किँदा।
मोज छ केटी तँलाई भनी गाउँका साथी रौसिदा।
सम्हालेको मन पनि बनिदिन्छ छिया छिया।
शब्द हुँदैन केही उसलाई दिन प्रतिक्रिया।
न बिदा मिल्छ,
न खुशी मिल्छ,
चाडपर्व काे बेला।
सबेरै निस्क्यो,
दिनभरि व्यस्त काममा,
कोठामा अबेला।
‘ आमा ‘
शब्द निस्केन मुखबाट च्यपिदा मशिन मा हात।
आफन्तले पनि छोड्दा रहेछन् यहाँ साथ।
हात जल्दा आँसु झर्यो, मुटु जल्दा शुन्य।
सुखको लोभमा मुग्लान छिरियो,
आमाको काख नै अमुल्य।
ओठमा मुस्कान देखिए पनि ओभानो छैन नयन।
आँसुको सागरमा डुब्न आँट्यो यो परदेशी जीवन।
( एस. एल. सी ब्याच – २०७०)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं- ६
बागलुङ,

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →