लघुकथा -बा

त्रिलोचन ढकाल
सेवा निबृत्त मावि शिक्षक रमाकान्तलाई दोश्रो विवाह गर्न धेरै साथी भाईले सल्लाह दिएका थिए । उनी विवाह गर्न तयार भएनन् । बरू उमेर पुगेपछि छोराको विवाह गरि दिए । उनीहरूका दुई सन्तान पनि भैसकेका थिए ।

उनलाई खाने लाउने कुराको समस्या थिएन । छोरा बुहारी नाति र नातिनीले अति माया गर्थे । छोरा बुहारी जागिरमा जान्थे । नाति नातिनी दिउँसो स्कुलमा हुन्थे । दिउँसो कोठामा एक्लै बस्न परेको कुराले भने अत्याउँथ्यो । दिनभर के गरौँ र कसो गरौँ हुन थालेको थियो, रमाकान्तलाई ।
एक बेलुका छोरा बुहारीले कुरा गरेको सुने-
“मेरो साथी छ नि रामे । बूढो बालाई लगेर बृद्धाश्रममा राखेछ । पापी !”
“तपाइँले पनि लैजानु होला फेरि ।”
“हैट ! त्यसतो पनि सोच्छन् ? जन्मदाता, पालनकर्ता, शिक्षादाता । भगवान हुनुहुन्छ नि बा त ।”
“राम्रो कुरा गर्नु भयो ।”
“दिउँसो कार्यालयको तर्फबाट बृद्धाश्रम निरीक्षण गर्न गएको थिएँ । बृद्ध बृद्धाहरू समूह समूह बनाएर गफ गरिरहेका थिए र खित्का छोडेर हासिरहेका थिए ।”
“जे भए पनि हाम्रा बाको सेवा यहीँ गर्ने हो । फेरि मलाई गाल पार्नु होला । गाल पाउँने त बुहारीले न हो ।”
छोरा बुहारीको वार्तालापबाट बृद्धाश्रम कहाँ कहाँ रहेछन भन्ने थाहा पाए, रमाकान्तले ।
विहान ९ बजे, छोरा बुहारी अफिसतिर र नाति नातिनी विद्यालयतिर जानु दैनिकी थियो । रमाकान्तको शुभयात्रा पनि दस बजे सुरु भयो ।
छोरा बुहारी नाति नातिनी साँझमा फर्कनु स्वाभाविक थियो । केटा केटीहरू गृहकार्य गर्न कोठाभित्र गए । बाउ आमा भान्सा कोठामा प्रवेस गरे ।
अबेलासम्म पनि रमाकान्त आएनन् । घर चिन्तामा डुब्यो
। फोन गरे । लागेन । खाना खानै छोडेर सबै जना रुन थाले ।
राती ९ बजे फोनको घन्टी बज्यो । रमाकान्तको रहेछ । उनले भने-“छोरा बुहारीहरू! म साथीकोमा आएको छु । भोलि शनिबार विहान यहाँ आउनु ।”
भोलिपल्ट विहानै छोरा, बुहारी, नाति र नातिनी रमाकान्तले बोलाएको स्थानमा पुगे । बृद्धाश्रम पो रहेछ । रमाकान्तले भने-“हिजो विहान दस बजे आएको थिएँ । दिनभरी दामलहरूसँग गफ गाफ गरियो । मेरो टाउको हल्का भएको छ । बेग्लै कोठा लिएर पनि बस्न पाइँदो रहेछ । मेसमा खाए पनि वा आफै पकाएर खाए पनि खुसी । भाँडा माझ्ने, कपडा धुने र सरसफाइ गर्ने मान्छे पनि हुँदारहेछन् । स्वास्थ चौकी छ । पुस्तकालय छ । विहानै आउँदा रहेछन पत्र पत्रिका । खेल मैदान र योगघर पनि छ । मेरो पेन्सनको आधा पनि लाग्दैन खर्च । घरमा पनि कुनै समस्या थिएन । तिमीहरूले खुब माया गर्थ्यौ । थप यहाँ गफ गर्ने दामलहरू पाइँदा रहेछन् ।”
“म यहीँ बस्छु । बेला बेलामा कहिले घर म आउँला । कहिले तिमीहरू यहाँ आउनु ।”
आनन्दआश्रम
फापरथुम, स्याङ्जा

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →