त्रिलोचन ढकाल
रमादेवीको मोबाइलमा टिरिरिर्र घन्टी बज्यो । मोबाइल राखेको ठाउँमा पुगिन् । छोराले गरेका थिए फोन । उनका छोरा स्पेनको वार्शिलोनामा थिए । उनले रेष्टुराँ सन्चालन गरेका थिए, त्यहाँ ।
फोन उठाउनुभन्दा पहिला रमादेवी तर्सिन् । के खबर आउने हो ? छोरालाई नै कोरोनाले समात्यो कि ? बुहारी र नाति नातिनी पो परे कि ?”
जे होला होला भनी मन दह्रो बनाएर फोन उठाइन् ।
“सन्चै छौ छोरा ?”
“ठिकै छु आमा ।”
“बुहारी र नाति नातिनी पनि राम्रै छन् ?”
“हाम्रो स्वास्थ त राम्रो छ आमा । हामीलाई त तपाइँको पो चिन्ता छ । सन्चै हुनुहुन्छ नि ?”
छोराले सन्चै छौँ भनेपछि रमादेवीको डर हरायो । उनी ढुक्क भइन् । खुसीयालीले गला अवरुद्ध भयो । बोल्न सकिनन् । आमा बोल्न रोकिएपछि छोरालाई आमा विरामी भए जस्तो लाग्यो । उनले चर्को आवाजमा भने-
“आमा ?”
“है बाबु !”
“विरामी हुनुहुन्छ कि ?
“होइन बाबु ठिक छु । छोराको बोली सुन्दा खुसीले मन भरिएछ । अनि त बोली बस्यो छोरा । तिमीहरू सन्चै रहेछौ । साह्रै खुसी लाग्यो ।”
“हाम्रो पीर गर्नु पर्दैन आमा । हामीले कोरोना लाग्नै नदिने उपाय गरिरहेका छौँ । लागिहाल्यो भने पनि यहाँ अस्पतालको भर पर्दो व्यवस्था छ । सन्च भैहाल्छ आमा !”
“त्यहाँ दिन दिनै ५/७ सय मान्छे मरेको सुन्दछु । अनि आत्तिन्छु । आमाको मन नि बाबु ।”
“बरू तपाईँ एक्लै हुनुहुन्छ । विरामी भए हेरि दिने मानिस पनि छैन । गाउँमा हुनुहुन्छ । गाडी चल्दैनन् । अस्पताल जान पनि सक्नुहुन्न । विरामी भए कोरोना नै हो कि भनेर अस्पताल लगि दिन डराउँछन् गाउँलेहरू । लकडाउनका नियमहरू पुरै पालन गरिरहनु पर्छ है आमा ।”
“सरकारले भने जस्तै गरिरहेकी छु । खाने कुरा सकिए सुर्यले ल्याई दिन्छ । ढुक्क छु ।”
“जथाभावी न हिंड्नु होस् नि । तपाईं त एकोहोरो हुनुहुन्छ । छट्पटी भयो भनेर डुल्नु होला नि फेरि ।”
“हिँड्दिन बाबु।”
“यहाँ पनि लकडाउन छ । बाहिर निष्कन पाइँदैन । रेष्टुराँ बन्द छ । छोरा छोरीको पढाइ पनि रोकियो । त्यहीँ आउने थियौँ । जेट चल्दैन । ख्याल गर्नुहोस् है आमा । मरियो भने न मलामी पाइन्छ । न काजकृया हुन्छ ।”
दुवैले फोन राखे ।
रमाले आँसु पुछिन् र भान्सातिर गइन् ।
आनन्दआश्रम
स्याङ्जा