राम प्रसाद कँडेल
एक दशक भएछ
घर छाडेको
भुलिसके होलान्, अब त
आँगनमा फूल्ने ती
मखमली, सयपत्री र गुर्दाउली हरुले।
बिर्सिसके होलान् अब त
कालीलेख, घुम्टे र रानीवनका
बैंशालु गुराँस अनि सल्लाघारी हरुले।
धिक्कारे होलान् अब त सुस्साई- सुस्साई
सानोमा पौडी खेल्न सिकाउने
दरम र गौँदी खोलाले।
अवरोध खडा गरे होलान् अब त,
म हिँड्ने गल्कोटका बाटाहरुमा
बन पाती र काँडा का बोट मौलाइ- मौलाइ
विगतलाई स्मरण गर्दा,
धेरै भो भुन्टी सँग
मजुवा, पिपले र बसहामा
हिलोको होली नखेलेको – नरोपेको।
धेरै भो साथी सँगी सँग
नौमती बाजा नसुनेको – ननाचेको।
धेरै भो कोट मैदानको चैते दशैं,
घुम्टेको बैशाखे पूर्णिमा, हरीचौरको
माघे संक्रान्ति मेला नहेरेको – नदेखेको।
अब त मलाई
कति गाउँलेहरूले
माया मारेर
जिउँदै घाटमा जलायौ होला।
ती मखमली, सयपत्री अनि गुरदाउली
अब त म देखि रिसाउँदै
ओइलाउँदै झर्यौ होला।
हे मेरी भुन्टी।
अब त मलाई
कुमारी छँदै श्राप दिँदै
विधवा आफूलाई सम्झ्यौ होली।
दरम र गौँदि अब त मलाई
जुनसुकै समय म प्रति खहरे बनि
गड्गढाई रहेका हौला।
आज त
मोबाइलको घन्टी बज्यो,
क्रारुनिक क्रन्दन आमाको।
गाउँको खबर आयो
आज त, म हिँड्ने बाटोमा
गाडी गुडेका छन् रे।
मैले पहिलो अक्षर पढेको स्कूलमा
क्याम्पस चलेका छन् रे।
टेलिफोन र एफएमका
टावरहरु गाँउ – गाउँमा छरिएका छन् रे।
मैले बालेर पढ्ने बातिको टुकी
घरमा भेटिँदैन रे।
बिजुलीले घर – आँगन झलमल्ल
भएको छ रे।
गाँउ त आज
शिशिरबाट छुटकारा पाई
बसन्तमा रमाई रहेछ रे।
अब त म
न त आज गाउँको वसन्त सँग
रमाउन सक्छु।
न त विदेशको वसन्त सँग
अब त म बिदेशमा छु।
शिशिरको पिडा
गाउँमा फर्कन्छु शिशिरकै पिडा
त्यसैले त आज मलाई
विदेशको उपहार
शिशिरै
शिशिर…….
( गलकोट नगरपालिका – ६, बागलुङ )