सागर ओसियन भन्डारी,
उसलाई सन्चो छैन क्या, प्लिज उसलाई बस्न दिनुस् न!’ त्यो मीठासपुर्ण बोलीले उनले
आग्रह गर्दा ‘नाईँ’, ‘हुँदैन’ सायदै कसैले भन्थे होला। माइक्रोबसको सीटमा
बसेका सज्जनले सुरूक्क सीट छोडिदिए। मेरै छेउमा उभिएकि उनले
मतिर फर्केर मुस्कुराउँदै सीटमा बस्न इशारा गरिन्। डण्डिमा समाएर यात्रा
गरिरहेको मलाई सीटमा बसिहाल्न लाज लागेर आयो। म बस्न चाहिनँ। ‘बस
न के बस। तिम्लाई सन्चो छैन, यसरी उभिँदा गाह्रो हुन्छ।’ उनले कर गरिन्।
भर्खर ज्वरो आएर सन्चो भएको म, त्यसमाथी अलि पहिले खुट्टा पनि भाँचिएको
उनलाई राम्रैसँग थाहा थियो। उभिँदा असहज त थियो नै तैपनि उनको अघि कमजोर
ठहरिन चाहन्नथेँ। म सीटमा बस्न चाहिनँ। मलाई हिनताबोध महशुस हुँदैथियो।
उनले कर गरिरहिन् तर पनि मैले आफ्नो ढिपि छाडिनँ। ‘हैन के तिमी नै बस।’
मैले उनैलाई कर गरेँ। ‘हेत्तेरिका तिमी बस न भन्या। तिम्लाई अप्ठेरो हुन्छ।’
उनी आँखा तर्दै बोलिन्। माइक्रोमा सकसले उभिएकाहरू हामीलाई जिल्ल
परेर हेरिरहेका थिए। खाली सीटमा बस्न पनि तिमी-तिमी भन्दै हानथाप गरिरहेका
थियौँ हामी। मैले आफु नबसेर उनलाई नै त्यो सीटमा बसाइछाडेँ। उनी मसँग
रिसाएजस्तो नखरा पार्दै सीटमा बसिन्। मलाई पनि उनले कर्के नजरले आँखा
तरेको र नाकका पोरा फुलाएर हेरेको देख्दा छुट्टै आनन्द लाग्यो। उता अघि
मलाई दया गरेर सीट छोडिदिने सज्जन मेरै छेउमा उभिएर यात्रा गरिरहेका थिए।
उनी मलाई घुरेर हेरिरहेका थिए। आफ्नो लागी भनेर छोडोको सीटमा म बसिनँ।
त्यसैले लाजले मैले भने उनको अनुहारमा हेर्नै सकिनँ। यसरी सँगसँगै कलेज
आउने जाने हामीहरूको घर पनि नजिक-नजिक पर्दथ्यो। सधैँको भीड
माइक्रोबसका कारण आउन-जान सास्ती नै पर्दथ्यो। कहिलेकाहिँ त हामी हिँडेरै
पनि यात्रा तय गर्थ्यौँ। भाँचिएर बल्लबल्ल जोड लागेका मेरा खुट्टाहरू माइक्रोमा
उभिँदा दुखिरहन्थे भने हिँड्दा पनि चाँडै नै गलिहाल्थे। हिँड्दाखेरि बेलाबेलामा मलाई
थकाई मार्नुपर्थ्यो। उनी पनि मलाई सँगै बसेर कुर्थिन्। म खुट्टा भाँचिएर अस्पताल बस्दा
मेरा नोटहरू उनैले बनाइदिएकि थिइन्। मेरा प्राक्टिकलका फाइलहरू उनैले गरिदिन्थिन्।
उनको साथ र सहयोगले मैले कलेज ‘मिस’ गरेको थिइनँ। कहिलेकाहिँ अस्पतालमै गएर पनि
दिनभरि मसँग गफ गरेर ‘बोर’ हुन दिएकि थिइनन्। मलाई ट्वाइलेटसम्म पनि काँधले थामेर लगिदिन्थिन्।
यसरी माया, प्रेम र सान्त्वमा पाइरहँदा त चोट पनि निको नभइदेओस् जस्तो लाग्ने रै’छ।
बिरामी बनेरै सुतिरहुँजस्तो लाग्दो रै’छ। तर पनि म चाँडै निको भएको थिएँ।
म उनको सहयोगबिना अपूर्ण थिएँ भने उनी नै मेरा लागी सम्पूर्ण थिइन्।
मेरा नजरमा उनीप्रति जति प्रेम थियो त्योभन्दा बढि आदर थियो, सम्मान थियो।
‘ओई! म गएँ ल! भाडा दिएर जान्छु।’ मैले हस् भनेर टाउको हल्लाएँ। उनले ‘बाई’
भनेर हात हल्लाइन्। बिहान मैले भाडा दिएको थिएँ, सायद त्यसैले अहिले उनले दिइन्।
उनी माइक्रोबाट झरेर घरतिर जाँदैगरेको मैले झ्यालबाट हेरिरहेँ। —— ——– ———
करिब सय मिटर वरपर घर भएका छिमेकि थियौँ हामी। जिन्दगीमा हामीहरूमा हुनेगरेका
संयोगहरू सम्झिँदा पनि अचम्म लागेर आउँछ। यति नजिक घर हुँदा पनि हाम्रो पहिले
कहिल्यै भेटघाट र चिनजान थिएन। कैयौँपटक बाटोमा जम्काभेट भयो होला, कुम ठोकियो होला,
आँखाहरू पनि जुधे होलान्। तर कलेजमा पहिलोचोटि भेट्दामात्र मन तरंगित भएको थियो।
कलेजको पहिलो दिन हतारिँदै कक्षामा पसेको थिएँ म। क्लास सुरू भैसकेकोले चुपचाप नै
लास्ट बेन्चमा बस्न पुगेको थिएँ। बिचबाट सुनेको लेक्चरको मेलो न मेसो भएको थियो।
मलाई सरको लेक्चरभन्दा बढि त क्लासका अन्जान चेहराहरूलाई पढ्न मजा आउन
थाल्यो। मेरो बेन्चको बिपरित लहरको पहिलो बेन्चमा बसेर ध्यानमग्न भएर सुनिरहेकि
चश्मा लगाउने गोरी केटिमा गएर नजर ठोकिए। त्यो उनी नै थिइन्। म कहिल्यै कलेज
समयमा पुग्दैनथेँ। अलमल गर्दागर्दै सधैँ ढिलो हुनेगर्थ्यो। यस कारणले म सधैँभरि सर
म्यामहरूको गालीको शिकार बन्थेँ। सदाझैँ एकदिन म ढिलो पुगेको थिएँ। सर पढाइरहनुभएको
रहेछ। ‘मे आई कम इन सर!’ मैले ढोका यसो उघारेर सोधेँ। ‘ आउनुस् हजुर आउनुस्।’ सरले
व्यंग्यको भावमा बोलाए। म लाज मान्दै आफ्नो बेन्चतिर लम्कँदै थिएँ। ‘छोराछोरीलाई स्कुल पुराएर
आउँछौ कि के हो। सधैँ ढिलो गर्छौ त बा’ सरले अझै जिस्काए। सबै साथीहरू गलललल हाँसो।
म कान रातो बनाएर बसेँ। मैले उनीलाई हेरेँ। उनी पनि गोरो मुहार रातो हुनेगरि हाँसिरहेकि थिइन्।
मलाई उनको हाँसो यति मन पर्न थाल्यो कि उनको हाँसोको लागी म हरेक दिन मजाकको पात्र
बनिरहन तयार थिएँ। खासै केटिहरूसँग परिचय र घुलमिल भइसकेको थिएन। केटाहरूसँग भने
हाईहेल्लो चलिसकेको थियो। सधैँ ढिलो आउने, आउनेबित्तिकै क्लासमा हाँसोठट्टाको माहोल बन्ने
हुनाले म रहस्यमयि पात्र थिएँ क्लासमा। यसै कारण होला उनी पनि मलाई ध्यान नदिएजस्तै स्वांग
पारेर मलाई हेरिरहेकि हुन्थिन्। मैले पुलुक्क उनलाई हेरिदिँदा उनी लाज मानेर नजर लुकाइहाल्थिन्।
मलाई उनीसँग नजिक हुन मन लाग्थ्यो। तर बोलिहाल्ने माहोल मिलिसकेको थिएन।
अरूलाई सामान्य लाग्ने उनको मुहारमा म बेग्लै आकर्षण पाउँथेँ। चश्माभित्रै पनि सुन्दर देखिने
गहिरा र प्रेमिल थिए आँखाहरू। त्यसैमाथी थिए त्यसै मिलेका मिलाउनै नपर्ने आँखिभौँ।
क्रिम पाउडर कहिल्यै लगाउनै नपर्ने अनुहारमा श्रृंगारको नाममा हुन्थ्यो त केवल गुलाबी
ओठमा हरपल सजिइरहने मन्द मुस्कान। ‘तिम्रो कपि लेउ न ल।’ क्लास सकिएपछि मैले उनको
छेउमै गएर मागेँ। उनी जिल्ल परेर मेरो अनुहारमा हेरिरहिन्। ‘म ढिलो आएँ, सरले के-के
पढाउनुभो थाहै भएन। म घर लगेर सार्छु नि ल।’ उनले मुसुक्क मुस्काएर कपि दिइन्।
सायद सोचिन् होला क्लासभरि त्यतिका साथीहरू छन्, अझै नजिकका केटाहरू
पनि साथी थिए तर मैले उनकै कपि किन मागेँ होला। मलाई त उनीसँग नजिक बन्नु थियो।
उनीसँग साथी बन्नु थियो। यो पनि उनले बुझिन् कि। उनको कपि समाउँदा नै मन चन्चल
भइरहेको थियो। आहा कति सुन्दर हो कपि पनि, आफुजस्तैगरि चिटिक्क पारेर सजाइएक
उनको कपि समाउँदा नै मन चन्चल भइरहेको थियो। आहा कति सुन्दर हो कपि पनि,
आफुजस्तैगरि चिटिक्क पारेर सजाइएको। मान्छे जति फुच्चि थिई त्यति नै फुच्चि कपि र
नाम पनि त्यति नै छोटो र फुच्चि थियो ‘भावना’!