श्रीरामनवमी विशेष: आराध्य श्रीराम अनुकरणीय श्रीराम

सामाजिक समरसताको सन्देश दिने श्रीराम चरित्रको पावन स्मरण

आदिकवि ऋषि वाल्मीकि विश्वका प्रथम महाकवि पनि हुन् र विश्वकै पहिलो महाकाव्य हो वाल्मीकीय रामायण । यसमा वर्णित श्रीरामकथालाई उपजीव्य बनाएर प्राचीन पौराणिक कालदेखि आजपर्यन्त अनेकौँ साहित्य सृजना भएका छन् । कतिपय रामायण नामले नै प्रकाशित पठित र विख्यात भएका छन् भने कतिपय ग्रन्थको नाम भिन्न रहे पनि मूलकथा श्रीरामकथा नै रहेको छ । रामकथा वाचन, गायन, श्रवणसँगै लीला मञ्चनको आयोजना हिन्दू जनमानसका निम्ति अतिप्रिय कार्य हो । भगवान् श्रीरामको कथा–गाथा यद्यपि जीवनका प्रत्येक पाइलामा, वर्षका प्रत्येक दिनका निम्ति प्रेरणादायी छन्, तथापि अधिक तल्लीनताका साथ श्रीरामकथा आराधना गरिने अवसर वा प्रसङ्ग भने वर्षमा विशेषतः दुई पटक प्राप्त हुन्छन् । ती दुई अवसर हुन् चैत्रमा पर्ने वासन्तिक नवरात्रि र आश्विनमा मनाइने शारदीय नवरात्रि ।

सहस्रौँ वर्षदेखि नेपाल–भारत भूखण्डका निवासीले र पछिल्लो समयमा विश्व मानव समुदायले नै पनि श्रीरामको जीवन गाथा पढ्दै, सुन्दै र गाउँदै आएका छन् किनकि कर्तव्यको पथप्रदर्शन गराउनमा र मानव जीवनका लागि प्रेरणा दिनमा उहाँको पावन गाथा सर्वोपरि छ । यदि रामायणलाई हामीले हिन्दू जीवनको कर्तव्य–शास्त्र भन्ने हो भने यसमा थोरै पनि अतिशयोक्ति हुने छैन, किनभने भगवान् श्रीरामको जीवनमा पाइला–पाइलामा हामी कर्तव्य पालनको दिग्दर्शन गर्दछौँ । उहाँ जन–जनका लागि यस्ता प्रेरणा पुरुष हुनुहुन्छ जसले कर्तव्य निर्वहनको एउटा यस्तो उदाहरण प्रस्तुत गर्नुभयो जुन सारा विश्व र समस्त मानवताका लागि अनुकरणीय छ ।

श्रीरामावतारको प्रत्येक लीला अनुकरणीय छ । धर्मको प्रतिष्ठा, अधर्मको नाशका साथै उहाँको जीवन उपेक्षितहरूलाई स–सम्मान प्रतिष्ठित गराउनमा समर्पित थियो । हेरौँ केही गुण :

मानवीय मर्यादा–पालन

स्वयं ईश्वरावतार हुँदा–हुँदै पनि मानवधर्म र व्यवस्थाको आदर्श स्थापित गर्दै गुरुकुलमा सामान्य छात्रका रूपमा शिक्षा लिन पुग्नुभयो । गुरुलाई सेवाद्वारा सधैं सन्तुष्ट राख्न उँहालाई कहिल्यै राजकुमार हुनुको विशिष्टताले छेकेन । गुरुआज्ञाको शब्दशः पालन गर्नुभयो ।

उपेक्षितको उद्धार

परिवार एवं समाजको उपेक्षाका कारण पीडाले ढुङ्गा झैं कठोर बनेर बसेकी थिइन् ऋषिपत्नी अहिल्या । तिनको चरणश्पर्श गरी उहाँलाई समाजमा पुनः प्रतिष्ठा दिलाउनुभयो ।

कुशल नेतृत्व

राक्षसी आतङ्कले आक्रान्त थियो ऋषिसमुदाय । मानव मात्र नभएर जगत्–कल्याणका लागि यज्ञ सञ्चालन गर्ने ऋषि विश्वामित्रको अभीप्सा घरिघरि राक्षसी उत्पातका सामु पराजित हुँदैथियो । यस्तो समयमा युवा अवस्थाका श्रीराम एवं लक्ष्मणले नै कुशल नेतृत्वका साथ अराजक हिंस्रक तŒवलाई विनाश गरी यज्ञरक्षाका गरी त्यसलाई पूर्ण गराउनमा सहयोग गर्नुभएको थियो ।

मानसिक समता र पारिवारिक समरसता

विपरीत परिस्थितिमा जीवनबाट हार मानेर निराश–हताश भएका व्यक्तिहरूका लागि भगवान् श्रीरामको जीवन एउटा प्रेरणाको स्रोत हो । उहाँको जीवन त विपरीत परिस्थितिहरूको शृङ्खला नै थियो जसमा सामान्य व्यक्ति कि त निराशा–हताशाको गर्तमा खसेर आफ्नो जीवन नै नष्ट गरिदिन्छन् । अथवा ईष्र्या–क्रोधको वशिभूत भएर पारिवारिक तथा सामाजिक सदाचार एवं नैतिक मर्यादाहरूको उल्लङ्घन गरिबस्दछन् । तर भगवान् श्रीरामले जीवनमा आइपरेका ती सबै संकटहरूको सामना अति नै शिष्टतापूर्वक गर्नुभयो । आफ्नो सबैभन्दा पीडादायक क्षणहरूमा पनि उहाँले आफूलाई अत्यन्त गरिमापूर्ण राख्नुभयो । सदैव सदाचार एवं नैतिक मर्यादाहरूको प्रतिष्ठा गर्नुभयो । यही मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो ।

न त उहाँ युवराजका रूपमा अभिषेक हुने कुरामा प्रफुल्लित हुनुहुन्थ्यो न पिताले चौध वर्षको वनवासको आज्ञा दिँदा निराश नै । सहजता र असहता दुबैप्रति मनमा समताको भाव राखेर उहाँले दुबै आज्ञा शिरोधार्य गर्नुभयो । राज्याभिषेकको समयमा विमाता कैकेयीद्वारा चौध वर्षको वनवासको आदेशलाई सहर्ष स्वीकार गर्दा उहाँको मनमा कैकेयीप्रति थोरै पनि क्रोध, द्वेष या प्रतिकारको भावना उत्पन्न भएन । उहाँ माता कौशल्या झैँ कैकेयीप्रति पनि आदर,स्नेह भाव राख्नुहुन्थ्यो जुन सधैँ एकसमान रह्यो । भाइ लक्ष्मणले जब माता कैकेयीको निन्दा गर्दछन् तब तुरुन्त लक्ष्मणलाई रोक्नुहुन्छ । साथै उहाँको मनमा भाइहरू भरत र शात्रुघ्नप्रति जागेको संशय दूर गर्नुभयो । अनुज भरत र शत्रुघ्न जब वनवासका लागि मन्थरा दासी र माता कैकेयीप्रति आफ्नो क्रोध प्रकट गर्दछन् तब पनि श्रीरामले उनीहरूलाई शान्त तुल्याउनुभयो । परिवारमा समरसता स्थापित गर्ने यस्तो अर्को कुनै उदाहरण छैन ।

संगठन कौशल्य

वनवासका क्रममा श्रीराम माता जानकी एवं भाइ लक्ष्मणसहित गोदावरी तटमा पुग्नुभयो । त्यहाँ राक्षसको आतङ्क चरममा थियो । जनसामान्य भयभीत थिए । त्यस बेला अगस्त्य ऋषिले श्रीरामलाई त्यस्तो ठाउँमा पुगेर बस्न आग्रह गर्नुभयो । यसको उद्देश्य थियो त्यहाँको जनसामान्यलाई संगठित गरेर उनीहरूमाथि भइरहेको राक्षसी आतङ्कविरुद्ध आफै युद्ध गर्न शिक्षा दिनु । मूलतः यहाँ संगठित भएर अन्यायको विरुद्ध उभिने शिक्षा श्रीरामले जनस्थानका वासीलाई दिनुभयो । यही संगठन कौशल्य उहाँले वानर तथा ऋक्ष समुदायका मानिसबीच पनि प्रस्तुत गर्नुभयो ।

सामाजिक समरसता

वनवासका क्रममा उत्तरदेखि दक्षिणसम्म उहाँले विभिन्न जातजातिका वनवासीहरूलाई आदरपूर्वक आत्मीय प्रेम दिँदै जानुभयो । गङ्गा किनारमा निषाद जातिका मुखिया गुहसँग मित्रता गाँस्दै उनीहरूलाई आदर प्रदान गर्नुभयो । भिल जातिकी बूढी शबरी आमाको आतिथ्य स्वीकार गर्दै उनले प्रेमपूर्वक दिएको ‘जूठो बयर’ खाएर सामाजिक समरसताको अझ एउटा दह्रिलो उदाहरण श्रीरामले प्रस्तुत गर्नुभयो । समाजिक समरसता स्थापनाका लागि भगवान श्रीरामले सदा न्यायको साथ दिनुभयो र अन्याय एवं अत्याचारका विरूद्ध उभिनुभयो । यसको सुन्दर उदाहरण सुग्रीवसँगको मित्रता र बालिवधको प्रसङ्ग हो । बाली बलशाली थियो र सुग्रीव निरिह । सहयोग मागेको भए शक्तिशाली बालीले नै माता सीताको खोजी गरेर रावणलाई पराजित गरी श्रीरामसामु ल्याउन सक्ने सामर्थ्य राख्थ्यो । तर, उहाँले अत्याचारीको सहयोग लिनुभएन अन्यायमा परेका व्यक्ति र समुदायको हितमा लाग्नुभयो ।

शरणागतको रक्षा

यद्यपि आफै समस्यामा हुनुहुन्थ्यो, तर लङ्काबाट निस्कासित भएर आएका धर्मात्मा विभीषणलाई दयापूर्वक आफ्नो छत्रछायामा शरणमा दिनुभयो । पछि, उनको गुमेको प्रतिष्ठा उनलाई दिलाउनुभयो ।

वाल्मीकि रामायणमा भगवान् श्रीराम भन्नुहुन्छ- मेरो शरणमा आएर एकपटक मात्र पनि ‘म तपाईँको हुँ’ भनी प्रार्थना गर्ने जोकोहीलाई पनि म सबै प्राणीहरूबाट अभय प्रदान गर्दछु । यो मेरो व्रत हो ।

सकृदेव प्रपन्नाय तवास्मीति च याचते ।
अभयं सर्वभूतेभ्यो ददाम्येतद् व्रतं मम ॥

शौर्य

साधारण जन समुदायमा विशाल समुद्र पार गरेर जाने साहस जगाउँदै त्यसबेलाको परम पराक्रमी तर आततायी रावणको दिग्विजयी सेनालाई परास्त गरेर श्रीरामले के आदर्श स्थापित गर्नुभयो भने केवल सैन्यबल संसाधन र शक्ति मात्र शौर्यको परिचायक हुँदैन । यसबारे एउटा सुन्दर प्रेरक सुभाषित नै प्रचलित छ—

विजेतव्या लङ्का चरणतरणीयो जलनिधिः ।
विपक्षः पौलस्त्यो रणभुवि सहायाश्च कपयः।।
तथाप्येको रामःसकलमवधीद्राक्षसकुलम्
क्रियासिद्धिः सत्वे भवति महतां नोपकरणे ।।

यस श्लोकको भावार्थ हो— शक्तिशाली लङ्कामाथि विजय प्राप्त गर्नका लागि भगवान् श्रीरामले खुट्टैले हिँडेर समुद्र पार गर्नुपर्ने स्थिति थियो । विपक्षमा पुलस्त्य ऋषिको नाति शक्ति र साधनसम्पन्न रावण थियो तर उहाँसँग न त साधन थिए न प्रशिक्षित सैनिक नै । सहयोगीका रूपमा वानर मात्र थिए । अर्थात् समग्रमा परिस्थिति विपरीत थियो तथापि प्रभु श्रीरामले असुरहरूको संहार गर्नुभयो । यसले के सिद्ध गर्दछ भने व्यक्तिले सिद्धि वा सफलता प्राप्त गर्नका लागि उपकरणभन्दा पनि सत्व अधिक महत्त्वपूर्ण हुन्छ ।

श्रीरामको जन्म हाम्रो व्यक्तित्वमा पनि होस् । यो पञ्चभौतिक देह मात्र नभएर पञ्चकोशात्मक हाम्रो व्यक्तित्व पनि श्रीरामको अयोध्या पुरी बनोस् । यस्ता अनुकरणीय प्रभु श्रीरामको प्राकट्य उत्सव श्रीरामनवमी मनाइरहँदा हामीले आफ्नो जीवनमा पनि सङ्कल्पपूर्वक श्रीरामका आदर्शलाई प्रतिबिम्बित गराउन सके यही नै श्रीरामपूजनको सार्थक स्वरूप हुनेछ ।

–विजय मिश्र

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →