आँखामुनिको कालो घेरा हटाउन आइ क्रिम कति उपयोगी ?

समग्र व्यक्तित्वमा अनुहारको सौन्दर्यले सबैभन्दा ठूलो भूमिका खेल्छ । यदि अनुहारमा डार्क सर्कल छ भने अनुहारको सुन्दरतामा नै यसले प्रभाव पार्छ । त्यसैले डार्क सर्कल धेरैको चिन्ताको विषय बनेको छ ।

यो गम्भीर समस्या त होइन, तर पनि यसले मानिसलाई थकित, निराश र अस्वस्थ द्खाउँछ । यसलाई हटाउन बजारमा विभिन्न प्रकारका आइ क्रिमहरू उपलब्ध छन् । बजारमा पाइने यस्ता आइ क्रिमले साँच्चै डार्क सर्कलको समस्याबाट छुटकारा दिन्छ त ?

डार्क सर्कल भनेको रोग होइन । अनुहारको आँखा बस्ने ठाउँमा भएको रगतको नसा, बोसो र विभिन्न तन्तुहरू मिलेर भित्रबाट आएको प्रतिबिम्ब नै डार्क सर्कल भएको छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

डार्क सर्कल आउने कारण

आँखामुनिको छाला एकदमै पातलो हुन्छ । यस्तो छालामा रगतका नसाहरू निलो देखिन्छ । केही कारणले रगतका नसाहरू फुले भने आँखामा डार्क सर्कल देखिने डा. पौडेल बताउँछन् ।

‘निद्रा पुगेन, थकान भयो वा बढी तनाव भयो भने त्यो बेला शरीरले स्ट्रेस हार्मोन रिलिज गर्छ । हर्मोनले रगतको नसा फुलाइदिन सक्छ । जसले गर्दा पनि डार्क सर्कल देखिन्छ,’ उनी भन्छन्, ‘साथै टेलिभिजन, ल्यापटप, मोबाइल धेरै हेर्ने वा चलाउने गर्दा पनि त्यसबाट निस्किएको विकिरणले आँखामा स्ट्रेस पर्न जान्छ र डार्क सर्कल देखिन्छ । आँखा धेरै मिच्ने बानीले पनि यो समस्या निम्तिन्छ ।’

कसैमा वंशाणुगत कारणले पनि आँखामुनिको छाला कालो हुन्छ । साथै कतिपय अवस्थामा भने घामको असरले गर्दा पनि आँखामुनि कालो देखिन्छ । घाममा भएका विकिरणले छालालाई कालो बनाइदिन्छ । यदि कसैको आँखा फुलेको वा सुन्निएको छ भने त्यसले आँखाको तल्लो भागमा छाया देखा पर्ने डा. पौडेल बताउँछन् ।

बुढेसकालमा आँखाको तल्लो भागको टिस्यु ड्यामेज हुँदै जाने भएकाले छाला पातलो र खुकुलो हुन्छ, जसले डार्क सर्कल बन्ने उनी बताउँछन् । ‘घामको विकिरणले टिस्यु ड्यामेज गराएर डार्क सर्कल देखा पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनि छाला सुख्खा हुने चाउरी पर्ने हुन्छ । त्यसको असर आँखामा पर्छ । जसले गर्दा डार्क सर्कल देखिन्छ,’ डा. पौडेल भन्छन् ।

आँखामा गाजल, मस्कारा र आइस्याडो लगायतका कस्मेटिकको प्रयोग गर्दा आँखाको वरिपरिको छालाका छिद्रहरू बन्द भएर तथा ती कस्मेटिकको एलर्जीका कारण पनि आँखामुनिको छाला कालो हुन सक्छ ।

बजारमा पाइने आइ क्रिमको प्रयागले डार्क सर्कल हट्छ ?

डार्क सर्कल हटाउन बजारमा विभिन्न प्रकारका आइ क्रिम उपलब्ध छ । यी क्रिमले शतप्रतिशत डार्क सर्कल हटाउने भन्दा पनि कम चाहिं गर्न सक्ने डा. पौडेल बताउँछन् ।

‘डार्क सर्कल हटाउने दाबी गर्ने विभिन्न ब्युटी प्रडक्ट बजारमा उपलब्ध छन् । कसैलाई यस्ता क्रिमले फाइदा गर्लान् । तर यदि छाला संवेदनशील भएमा त्यस्ता ब्युटी प्रडक्ट हानिकारक साबित हुन सक्छन्,’ उनी भन्छन्, ‘त्यसैले विशेषज्ञ डाक्टरको सल्लाह लिएर मात्र क्रिमको प्रयोग गर्नु उपयुक्त हुने पौडेल सुझाउँछन् ।

समाधान

डार्क सर्कल के कारणले बढेको हो त्यसलाई पत्ता लगाएर समाधान गरेमा यो समस्या आफैं कम भएर जान्छ । निद्रा, थकान वा तनावको कारणले डार्क सर्कल बसेको हो भने त्यहीअनुसार विचार पुर्‍याउनुपर्ने डा. पौडेल बताउँछन् ।

‘घाममा निस्किंदा सनस्क्रिन र सनग्लास लगाउनुपर्छ । आँखामुनिको छालालाई मोस्चराइज राख्नुपर्छ । आँखा मिच्ने बानी गर्नु हुँदैन । प्रशस्त पानी पिउनुपर्छ,’ उनी भन्छन् ।

डार्क सर्कलको मेडिकल उपचार पनि छ । आँखामुनि इन्जेक्सनमार्फत ‘टिस्यु फिलर’ गर्न सकिन्छ, जसले कालो दागलाई छोपिदिन्छ । डार्क सर्कल हटाउन विश्व बजारमा छाला कलरको ट्याटु बनाउने चलन पनि छ । तर नेपालमा यो ट्याटु त्यति प्रयोग नभएको डा. पौडेल बताउँछन् ।

‘लेजर सर्जरी गरेर पनि आँखामुनिको कालो दाग हटाउन सकिन्छ । साथै केमिकल पिलिङ गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ,’ उनी भन्छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →