काठमाडौं, माघ ३ गते । नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा
बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ ।
पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले संसदीय दलसँग सम्बन्धित तीन कुराहरु पास गरेको छ । संसदीय दल अनुशासन समिति निर्माण गर्ने, जसमा दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठन गर्ने । संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक/एक जना संयोजक तोक्ने व्यवस्थाअनुसार पहिला तोकिएका संयोजकहरु एक जना मन्त्री, एक जना समितिको सभापति, एक जना प्रमुख सचेतक भएकाले त्यसमा अर्थ समितिमा डा. प्रकाशशरण महत, मेरो समिति खालि थियो, त्यसमा सञ्जय गौतम, अर्को समितिमा कृषि समिति खालि थियो त्यसमा चन्दा चौधरीलाई नियुक्त गर्ने निर्णयलाई सदर गरिएको छ ।’’