पारस र पवन चिडियाखानाका आकर्षण

काठमाडौँ, भदौ १५ गते । अनुहार हेर्दा ठ्याक्कै घोडाजस्तो तर टाउकोमा घोडाको जस्तो जुरो हैन, दुईवटा सिङ छ । जीउ गाईको जस्तो तर रङ अन्य गाईभन्दा फरक नीलो छ ।

पुच्छर न घोडाको जस्तो न त गाईको जस्तो मझौलो आकारको छ । खुट्टामा कल्ली बाँधिदिएजस्तो सेतो काला धर्से रङले सुन्दर देखिन्छ । मृगझैँ दौडनसक्ने खुबी र चञ्चलपन उस्तै छ ।
यस्तो अनौठो दुईवटा भाले र एक पोथी नीलगाई यतिबेला राजधानीस्थित चिडियाखानाको शोभा बनेको छ । यिनलाई चिडियाखानाले पारस र पवन नाम दिएको छ । अर्की सानी कान्छीको नाम भने उद्धारमा संलग्न स्थानीयले नै राखिदिएका हुन् । कसैकसैले यसलाई घोडगधा पनि भन्छन् । जाउलाखेलनजिकै बस्ने दिदीभाइ सम्पन्ना बस्नेत र सूचक बस्नेत घरीघरी नीलगाई हेर्न पुग्छन् । “गाईजस्तो सिङ छ, घोडाजस्तो खुट्टा र अनुहार छ,” सम्पन्नाको भनाइ छ, “अचम्म लागेर हेर्न आउँछौँ ।” उनीहरू मात्र हैन, छुट्टी मनाउन आउने बालबालिका, अभिभावक र नवआगन्तुक पवन र पारस देखेर अनौठो मान्छन् ।
“दुईवटा छुट्टाछुट्टै घर तर एकअर्काको आमनेसामने बस्छन्,” चिडियाखानाका सूचना अधिकृत लीना चालिसे भन्नुहुन्छ, “घरी चिनेझैँ गर्छन् घरी अलि पर बसेर एकअर्कालाई नियाल्छन् ।” उहाँले फरक क्षेत्रबाट आएका पारस–पवन आपसमा चिनजान गर्ने कोसिस गरिरहेका छन् ।
सोमबार मात्र चिडियाखाना प्रवेश गरेकी कान्छी भने आफूजस्तै दुई नीलगाई देखेर फुरुङ्ग छे । रूपन्देहीमा अलपत्र अवस्थामा उद्धार गरी ल्याइएको कान्छीलाई भने पवनसँग राखिएको छ । “भालेसँगै हुँदा झगडा हुने बढी सम्भावना हुन्छ तर पोथी भएकाले होला, पवन रिसाएको छैन,” चालिसे उनीहरूको गतिविधि सुनाउनुहुन्छ, “कान्छी फकाउने मेसोमै पवन र पारस पनि नजिकिन्छन् होला ।” कान्छी करिब ११ महिनाको भई । सानी कान्छी देख्दा भाले नीलगाई मात्र हैन, चिडियाघर डुल्न आउने पनि थप खुसी छन् । भालेपोथीसँगै भएपछि चिडियाखानामै नीलगाईको सन्तान बढ्ने अपेक्षा चिडियाखाना प्रशासनले गरेको छ ।
उहाँका अनुसार कहिलेकाहीँ डराउने, लजाउने र उफ्रने कुद्ने गर्छन् । स्थानीयले समातेर घरमा पालेर राखेको अवस्थामा पवन र पारसलाई उद्धार गरी चिडियाखाना ल्याइएको चालिसेले जानकारी दिनुभयो । “नेपालको कानुनअनुसार जङ्गली जनावर घरमा पाल्न मिल्दैन,” उहाँले थप्नुभयो, “घरमा पालेकालाई एक्कासि जङ्गलमा छाड्न पनि मिल्दैन । त्यसैले यहाँ ल्याएका हौँ ।”
उहाँका अनुसार करिब तीन वर्ष उमेरसमूहका नीलगाईमध्ये पारसलाई नवलपरासीको त्रिवेणीबाट र पवनलाई सिन्धुलीको हरिपुरबाट उद्धार गरिएको हो । उहाँका अनुसार हरिण र मृगझैँ यो नीलगाईलाई कतिपयले चोरीछिपी मारेर खाने गरेको पाइन्छ तर यी गाईलाई मार्नुहुन्न भन्ने थाहा पाएपछि स्थानीयले खबर गरेपछि उद्धार गरिएको हो ।
यसअघि चिडियाखानामा दुई वर्षअघि एउटा नीलगाई थियो । त्यसको मृत्यु भएपछि खोर खाली थियो । यतिबेला चञ्चले पारस र पवनले चुलबुले बालबालिकाको ध्यान तान्ने गरेको चिडियाखानाका कर्मचारी बताउँछन् ।
“नीलगाई एन्टिलोप प्रजाति अन्तर्गतको सबैभन्दा ठूलो जनावर हो,” सदर चिडियाखाना जाउलाखेलका प्रमुख चिरञ्जीवी पोखरेलले भन्नुभयो, “बाघ र चितुवाले अति मन पराउने आहारा प्रजाति पनि हो ।” त्यसैले यसको सङ्ख्या घट्दा बाघको सङ्ख्यामा समेत असर पर्छ ।
नेपालमा यसको बासस्थान विशेषगरी तराई क्षेत्र हो । जहाँ बाघ र चितुवा बढी हुन्छ, त्यहाँ यसको उपस्थिति अनिवार्य हुन्छ । तथापि शुक्लाफाँटा, बर्दिया, चितवन र पर्सा क्षेत्रमा यसको सङ्ख्या बढी देखिन्छ । उखुबारी भएका क्षेत्र तथा लुम्बिनी र सामुदायिक वनको आसपास चरन क्षेत्रमा पनि यो गाईको उपस्थिति हिजोआज देखिन थालेको पोखरेलले बताउनुभयो ।
पछिल्लो समय नेपालमा यसको सङ्ख्या घट्दै गएको अनुमान उहाँले गर्नुभयो । संरक्षण र अध्ययन भएका छैनन् तर बाघ वा गैँडा गणनामा क्यामरा ट्रापिङमा भेटिएअनुसार बाघले यसलाई बढी मार्न थालेको उहाँले जानकारी दिनुभयो । दिउँसो र साँझ बढी सक्रिय रहने यो गाई घाँसेमैदानको खोजीमा भौँतारिने गर्छ । आहारा प्रजातिका स्तनधारी प्राणी गौरीगाई, अर्ना भैँसीजत्तिको संरक्षण नीलगाईका लागि भएका छैनन् ।
एन्टीलोप प्रजातिमा नीलगाईसँगै कृष्णसार र चौसिङ्गा पर्छ । कृष्णसार र चौसिङ्गाको सङ्ख्याका हिसाबमा नीलगाईको अवस्थिति घट्दो रहेको उहाँको अनुमान छ । नेपालमा यकिन सङ्ख्या नभए पनि करिब २३० देखि ३४० को हाराहारी नीलगाई रहेको अनुमान पोखरेलले गर्नुभयो ।
अमेरिका र मेक्सिकोको जङ्गल क्षेत्रमा नीलगाईको सङ्ख्या ३०औँ हजारमा रहेको पाइन्छ । त्यसको तुलनामा दक्षिण एसियामै पनि यसको सङ्ख्या कम छ । यस क्षेत्रमा नेपाल, भारत र पाकिस्तानमा बढी छन् । बङ्गलादेशमा केही सङ्ख्या देखिए पनि त्यो लोप भएको अनुमान गरिएको छ ।
चिडियाखानाले विद्यार्थीलाई प्रदान गर्दै आएको संरक्षण शिक्षाको नयाँ आयामका रूपमा नीलगाई रहेको जानकारी उहाँले दिनुभयो । अनौठो जनावर देख्दा के हो, कसो हो भनेर बुझ्न र सोध्न बारम्बार चिडियाखाना आउनेहरू बढ्दो रहेको उहाँले बताउनुभयो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *