युथ एसियन गेम्समा नेपालको सहभागिता अन्योलमा

काठमाडौं वैशाख १८ गते । युवा खेलाडीहरुको प्रतिभा देखाउने र भविष्यका स्टार जन्माउने लक्ष्यका साथ हुँदै आएको युथ एसियन गेम्सको आगामी संस्करण बहराइनमा हुँदैछ ।

ओलम्पिक र एसियन गेम्स जस्तै मल्टी स्पोर्ट्स गेम्सको रुपमा रहेको युथ एसियन गेम्सको तेस्रो संस्करण अक्टोरबमा बहराइनमा हुँदैछ ।

सुरुमा उज्वेकिस्तानमा आयोजना गर्ने तय थियो । तर त्यहाँको पूर्वाधार निर्धारित समयमा तयार नहुने भएपछि ओसिएले गत वर्ष नै युथ एसियन गेम्स बहराइनमा सार्ने निर्णय गरेको थियो ।

उज्वेकिस्तानले पूर्वाधार सम्पन्न हुनका लागि केही समय माग गरेको थियो तर अर्को वर्ष डाकारमा युथ एसियन गेम्स हुने तालिका रहेकोले ओसिएले यस वर्ष नै युथ एसियन गेम्स गर्ने भन्दै बहराइनलाई नयाँ होस्ट बनाएको हो ।

तेस्रो युथ एसियन गेम्समा २१ खेल समावेश गरिनेछ । जसमा एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल (थ्री एक्स थ्री), इक्वेस्ट्रियन, इ स्पोर्ट्स, फुटसल, गल्फ, ह्यान्डबल, जुडो, जुजिस्तु, मिक्स मार्शल आर्ट्स, साइक्लिङ (रोड), स्विमिङ, टेबल टेनिस, तेक्वान्दो, ट्रायथलन, कुस्ती, भारोत्तोलन, कबड्डी, भलिबल र टेकबल समावेश गरिएको छ ।

युथ एसियन गेम्समा एसियाका ४५ वटा राष्ट्रहरुले सहभागिता जनाउनेछन् । अन्य राष्ट्रहरुले मल्टी स्पोर्ट्स इभेन्टमा सहभागिताका लागि तयारी गरिरहँदा नेपालमा भने त्यसको केही सुरुवात नै भएको छैन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →