काठमाडौँ, वैशाख ८ गते । स्वास्थ्य सेवामा क्रियाशील स्वास्थ्यकर्मी ट्रेड युनियनहरूले स्वास्थ्य सेवा ऐन छुट्टै जारी गर्नुपर्ने माग राखेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्य सेवामा छुट्टै ऐन जारी गर्नुपर्ने माग राखेका हुन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घका अध्यक्ष डा. झलक गौतमले सङ्घीयता सफल रूपमा कार्यान्वयन गर्नका लागि नेपाल सरकारले स्वास्थ्य सेवा ऐन तत्काल जारी गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यका ट्रेड युनियनहरूले संयुक्त रूपमा राज्य व्यवस्था समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो । डा. गौतमले हालसम्म पनि औपचारिक रूपमा स्वास्थ्य सेवा ऐन निर्माण प्रक्रियासमेत सुरु नगरेकाले तत्काल सरोकारवालाहरूको सहभागितामा छुट्टै ऐन ल्याउनुपर्ने भन्दै सभापति खतिवडालाई ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।