तनहुँ, वैशाख १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले धनी व्यक्तिलाई विपन्नताको सिफारिस नगर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबारबाट सञ्चालनमा ल्याइएको ‘जिपी कोइराला लायन्स हेमो डायलाइसिस युनिट’ को शुभारम्भ गर्दै सो कुरा बताउनुभएको हो ।
विपन्नले मात्र पाउने सुविधा धनीले लिने गरेको पाइएकाले त्यसलाई सुधार गर्न वास्तविकताको आधारमा मात्र सिफारिस गर्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो । सहरमा चार वटा घर भएका धनीले पनि सिफारिसको आधारमा सुविधा पाउने अवस्था भएकाले अन्त्य गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पौडेलले धनीलाई विपन्न भनेर सिफारिस गरिएमा सिफारिस गर्नेबाट समेत रकम असुल गर्ने नियम बनाउन लागिएको बताउनुभयो । मन्त्री पौडेलेले भन्नुभयो, ‘वडाध्यक्षज्यूहरु तपाई धनीलाई गरिब भनेर सिफारिस नगरिदिनु होला, अब पनि सिफारिस गर्नुभयो भने उपचारको खर्च सिफारिस माग्ने र लिने दुवैले रकम तिर्नुपर्ने व्यवस्था गर्न लागेका छौं ।’