-कविकिरण न्यौपाने
चाइना बाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै तहस – नहस बनाईरहेको छ। कुनै पनि देश यो भाइरस बाट बच्न सकेका छैनन ।
पछिल्लो तथ्याङक अनुसार विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ४२हजार नाघेको छ । लाखौं यस्को संक्रमणका कारण उपचार गराई रहेका छन्। विश्वका शक्तिशाली अनि विकशित देशहरुले पनि यस भाइरसको संक्रमणलाई काबुमा राख्न सकेका छैनन् । ति देशहरुमा अझैं संक्रमण अनि मृत्युको दर बढी रहेको छ। यतिवेला नेपाल लगाएत धेरै देशहरुले यस भाइरसको संक्रमण बाट जुध्न लक डाउन गरिरहेका छन्।
जापानमा पनि यस्को संक्रमण तिब्र गतिमा फैलिरहदा समेत लक डाउन भने गरेको छैन । जापानको जनसंख्या १३ करोडको हाराहारीमा रहेको छ । अध्ययन , रोजगारी , व्यवशाय लगाएत कामहरुमा १ लाखको हाराहारीमा नेपालीहरु र विश्वभरीका लाखौं मानिसहरु जापानमा रहेका छन्। २०२० मा जापानको टोक्योमा हुने ओलम्पिक खेल समेत पछिल्लो समय सम्म गराउन सक्षम रहेको दावी गरिरहदाँ अन्य देशहरुले यस्तो विशम परिस्थितिमा आफ्ना खेलाडीहरु पठाउन नसक्ने बताएपछि तोकिएको मिति स्थगित गरिएको थियो। जसबाट जापानले ठूलो आर्थिक क्षति व्यहोर्न परेको छ।
जापानमा अहिले सम्म कोरोना संक्रमितको संख्या करिब ३ हजारको हाराहारीमा पुगेको छ । दिनमै सयौंको संख्यामा नयाँ संक्रमितहरुको संख्या थप्पिरहेका छन् । पछिल्लो तथ्याङक अनुसार ७७ जनाले भाइरसको संक्रमणका कारण ज्यान गुमाई सकेका छन्। ज्यान गुमाउनेमा जापानका चर्चित हास्य कलाकार शिमुरा केन समेत छन्। हालसम्म कुनै नेपालीहरु पनि जापानमा कोरोना भाइरसको संक्रमणमा परेका नभए पनि, र पनि सबै सचेत हुनु जरुरी छ।
जापानमा जापनिजहरु कामलाई अत्याधिक महत्व दिने गर्छन। र पनि देशभरका स्थानीय सरकारहरुले इमर्जेन्सीमा जानुपर्ने आवाज उठाइरहेका बेला जापानका प्रधानमन्त्री सिन्जो आबेले भने इमर्जेन्सी अहिलेको आवश्यकता नभएको प्रष्ट पारेका छन् । आबेले आपतकाल वा नाका बन्द गर्न हतार नभएको प्रस्ट पार्दै नागरिकको स्वास्थ्य र जीवन रक्षा गर्नु सबै भन्दा महत्वपूर्ण कुरा हो’ भनेका छन् । जापानमा यसअघि नै सबै प्रकारका खेल प्रतियोगिता एवं कार्यक्रमहरु स्थगन गरिएका छन् । नागरिकलाई भिडभाड हुने ठाउँहरुमा सकेसम्म नजान र शुरक्षित हुन भनिएका छन्। अधिकांश जापनिजहरु नियमको पूर्ण पालना गर्ने हुदाँ ट्रेन , वस स्टेशनहरु , रेष्टूरेन्टहरुमा भिडभाडमा कमि देखिएका छन्।
सबैलाई थाहा भएकै कुरा हो कि लक डाउन बाट देशलाई ठूलो आर्थिक क्षति हुने गर्छ। देशनै बन्द भएपछि सबै लाई दैनिक गुजारा चलाउन भत्ता तथा सुविधाहरु अवश्य दिनै पर्छ। त्यसैले जापानमा कोरोना भाइरसले बिकराल रुप लिई सकेको निस्कर्ष निकाल्दैं लक आउट नगरेको अनुमान लगाउन सकिन्छ। जे होस् “ज्यान रहे न धन “भने झैं यस कोरोना भाइरस बाट बच्न आफै सचेत होऊ।