कविता

!! ॐ शान्ति !!

एउटा बन्दुक चलाउन माहिर मान्छे,
उ आफू,
गुलाफको ब्यापार गर्छ,

र,
कोपिला भित्र बारुद लुकाएर भन्छ,
बसुधैव कुटुम्वकुम !!

जहाँ प्रेमको साटासाट हुन्छ,
त्यहाँ उ,
गरिबी माथी परमेश्वरको ब्यापार गर्छ,
कात्रो माथी पनि भ्रस्टाचार गर्छ,
र भन्छ-
पैसाले मृत्यु किन्न सकिन्न मित्र !!

आफ्नो घरमा ताल्चा मारेर,
उ,
पराईकी श्रीमतीको स्वतन्त्रता खोज्छ,
त्यागेर मातृभुमि,
नागरिकतामा न्याय खोज्छ,
र भन्छ,
मन भन्दा बिशाल,
मन भन्दा नजिक,
र मन भन्दा नरम केही हुदैन रहेछ प्रिय !!

अति पुर्व नै अति पश्चिम हो,
गोलार्ध कल्पना हो,
मृत्यु नै डरको मुल कारण हो,
जीवनभर झिंगा बनेर,
माहुरीको स्वाङ्ग पार्दै,
मर्नु भन्दा अगाडि,
उ भन्छ,
असतोमा सतगमय,
तमशोमा ज्योतिर्गमय,
मृर्त्योरमा अमृतगमय,
ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति !!!

मन खत्री (सागर )
२०७७-२-२८

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →