आदणीय मेयरसाप नमस्कार,
सायद हजुरलाई थाहै होला, सन २०१८ को जनवरीमा लण्डनका एकजना नर्स नेईल्स हाइगेल्सले आफु मेडियामा पपुलर हुनका लागि हस्पिटलमा आफु मातहतका ९७ जना विरामीहरुलाई गलत औसधीको सेवन गराए र मृत्यु दिलाए ।
त्यसै गरि १९७८ को नोभेम्वरमा अमेरिकाको क्यालीफोर्नियाका एक पादरी जीम जोन्सले आफ्ना अनुयायीहरुलाई आफु सँगै स्वर्ग जान भनि विष पिलाई दिए । नमान्नेहरुलाई बन्दुक देखाएर धम्क्याएरै ख्वाए र सबैको एक चिहान बनाई दिए । २०१९ को अप्रिलमा अमेरिकाकै कोलम्विएन हाई स्कुलका एक विद्यार्थीले स्कुलमै गोलि चलाए । २०७६ मा काठमाण्डौमै एक विद्यार्थीले फेसबुक लाईभ गरेर आत्महत्या गर्ने प्रयास गरे ।
मथि दिएका यि सव घटना भनौ या दुर्घटनाका पछाडी एउटै कारण थियो – पपुलर हुने र पत्र पत्रिका भरि छाउने ।
अहिले हालसालै आएको गलकोट नगरपालिकाको कार्यालय करोडौं खर्च गरेरै भएपनि फाँटमै बसाउने नीति कतै यिनै घटनाहरुको उपज त होइन ?
भविश्यमा कुनै समय यसरिनै माहामारीहरु बढ्दै जाँदा र छिमेकि मित्रराष्ट्रहरुले फेरि नाकाबन्दि गरिदिँदा कतै त्यो फाँट सँगै गलकोटको पुरै जनसंख्या सती जानु पर्ने स्थिती आयो भने त्यति बेला मेयर सापलाई गलकोटका नयाँ जीम जोन्स भनेर न्वारान गर्नु पर्ने हुन सक्छ । विचार पु¥याउनु होला ।
मेयरसाप ओखती तितै हुन्छ तर त्यसको असर सकारात्मक हुन्छ,
मेरो यो चिठीमाथी विभिन्न तर्क वितर्कहरु आउन सक्छन मान्छेहरुमा ; आफ्ना जग्गा बेच्न पाउने र किन्न पाउने तर्क, थोरै स्थान ओगटेरै भएपनि राम्रो कामको सुरुवात गर्न खोजेको तर्क, दुवै कतार र साईप्रस जस्ता देशहरु जहाँ खेत नै छैन त्यहाँ पनि मान्छेहरु आनन्दले बाँचेका र खाएका छन भन्ने तर्क, आफु गाउँ नफर्कीने अनि गाउँ बसेकाहरुले गरिखाएको देख्न नसकेर स्याल कराई गरेका तर्क आदी । तर यो तर्क बर्तमानका लागि गरिएको तर्क होइन, भविश्य सोंचौ भन्ने तर्क हो । आजको सहि समयमा गलत निर्णाय नगरौं भन्ने विचार हो । स्वथ्य जीवन र दिगो विकासका लागि गरिएको अपिल हो । यसले कुनै व्यापारीहरुलाई नाफा नहोला तर घाटा कसैलाई कहिल्यै हुनेछैन ।
आदणीय मेयरसाप, यो कुनै काँग्रेस र कम्निस्टको आवाज होइन यो गलकोटको आवाज हो । आज भन्दा पाँच वर्ष अगाडि चार ‘ज’ जल, जमिन, जँगल र जनसक्तिको बारेमा छलफल भइसकेको थियो । स्थानिय चुनावको बेलामा पनि मेयरका प्रतिद्धवन्दि हरु विच यि कुराहरु छलफलमा ल्याईएको थियो । मेयर सापले गरेको एउटा प्रतिबद्धता भित्र यो जमिनको कुरा पनि उठेको थियो । आज त्यो प्रतिबद्धता कता हरायो ? कमसे कम, मेयर सापले आफ्नो चुनावको घोषणा पत्र र बहसका बेला गरेको प्रतिबद्धता हेरिदिएर निर्णाय गरिदिए राम्रो हुन्थ्यो ।
आज हामीले कति पैसा कमाउँछौ र कत्रा घर बनाउँछौं ले आजको सय वर्ष पछि केहि अर्थ राख्दैन । हिजोका मुखिया जिम्मालका नातीहरु कोहि आज सडकमा छन । राजाका सन्तानहरु रैती बनेका छन भने, हिजो ढिंढो खान नपुग्नेहरुका सन्तान आज कार र महलमा छन । ब्याक्तिगत जीवनमा समयले सबै कुरा परिवर्तन गराउँछ । तर आज गरेको यो सार्वजनिक निर्णायले सयौं वर्ष सम्म समाज र सामाजिक जीवनमा असर गरिरहन्छ । जसरि हिजोको काठमाण्डौको तस्विर हेरेर आजको काठमाण्डौले थकथकी मान्छ, त्यसै गरि आजको गलकोटको तस्विर हेरेर भोलिको गलकोटले यो निर्णायको बागडोर सम्हाल्नु भएका मेयर सापलाई सराप्न सक्छ । त्यसैले निर्णाय गर्दा आजलाई होइन, भोलिलाई सम्झेर निर्णाय गरिदिँदा राम्रो होला ।
समाजका सबै मान्छेहरुलाई खुशि बनाएर काम गर्न सजिलो छैन । तर यहि दर्शनमा टेकेर जे पनि गर्न हुन्छ भन्ने बुझ्नु महाभुल हुनसक्छ । गलकोट नगरपालिकाको नगर कार्यालय फाँटमा हुनु भविश्यका लागि दुर्भाग्य पुर्ण छ । भलै आज कसैका जग्गा नजिक पर्लान, कसैका घडेरी विक्लान, कसैले घर बनाउने ठेक्का पाउलान, कसैले प्लटिङ्ग गर्ने त कसैले बाटो हाल्ने अवसर पाउलान तर भविश्यमा भालुको कम्परो हुनेछ ; न सार्न मिल्ला, न फाल्न मिल्ला । कसै गरेपनि त्यो स्वरुप उपलब्ध हुने छैन जुन आज र हिजो सम्म थियो ।
हजुरलाई यो पनि थाहै होला, अमेरिकाका चर्चित पप स्टार माइकल ज्याक्सन कालाजातिका थिए । उनको स्वरले सबै चकित पर्थे । त्यसैले उनि हिंडे भने बाटोमा ट्राफिक जाम नै हुन्थ्यो । उनको त्यो अनुहार हेर्न लाखौं मान्छेको भिड लाग्थ्यो । जव उनले गित गाएर करोडौं डलर कमाए तव उनलाई आफ्नो कालो रंग र काला साथीहरु प्रति घृणा जागेर आयो । उनले दश दश पटक सम्म प्लास्टिक सर्जरि गराएर अनुहारमा परिवर्तन ल्याए तर उनले सोंचे जस्तो कहिल्यै बनेन । फेरी उनले आफ्ने त्यहि पुराने फोटो हेरे र त्यहि अनुहार फर्काउन खोजे त्यो सम्भवै थिएन । अन्तत जुन २५, २००९ मा बारबार गरिएको त्यहि प्लास्टिक सर्जरिकै कारण क्यान्सर लागेर उनको मृत्यु भयो ।
होसियार हुनुहोस ! भोलि हामी माईकल ज्याक्सन बन्नु नपरोस । गलकोट फाँट माथी गरियको कन्क्रिट सर्जरिको भागिदार तँपाई हाम्रा सन्तान हरु बन्नु नपरोस् । आजका पैसावाला गलकोटेका सन्तानले भोलि टाउको ठोकेर रुन नपरोस ।
यदी कसैले आज नगरपालिकाको कार्यालय राजाको पुल भन्दा पर जान नपाईने, न्युलाईफ बोर्डिङ्ग भन्दा तल जान नपाईने, धानखेत भन्दा माथि जान नपाइने भनेर साँध किल्ला छुट्टाउनु भएको छ र मेयर सापलाई अक्करमा पारेर काम गराउन खोज्दै हुनुहुन्छ भने, उहाँहरु पनि सबैजना होसियार बन्नुहोस ! तपाईहरुका सन्तान पनि यहि पृथ्वीमा वाँच्नु पर्छ । यहि पर्यावरणमा सास फेर्नु पर्छ । यसको पाप तँपाईहरुमा नदेखिए पनि तँपाईहरुका छोरा नातीहरुमा देखिन सक्छ । यहाँ नाम लिनु त्यति राम्रो नहोला । बाउ आमाले गरेका पापका भागिदार भएका पात्रहरु हाम्रो समाजमा धेरै छन । आफै विचार गर्नुहोला ।
मेयरसाप, मैले अघिल्लो लेखमा पनि भनि सकेको छु, गलकोट भनेको हटिया र हरिचौर मात्रै होइन । वार्ड नम्वर छ भनेको चरौँदीको फाँट मात्रै पनि होइन । जामुने डाँडो, खुइल, मसार, नेपाने, कादेस, ठुलाथर र ठाना पनि हो । कार्यालयको कामले हरिचौर फाँटमा आउन सक्ने रिघाको मान्छे, दुई सय मिटर पर जामुने डाँडाँमा जान सक्दैन ? पाँच सय मिटर पर खुइल जान सक्दैन ? जति चरौँदी, हरिचौर र हटियाले सुगमता खोज्छ त्यति सुगमता खोज्ने अधिकार कादेस र भुजुङ्गे लाई छैन ? के तँपाई कादेस, भुजुङ्गे र ठुलाथरको मेयर होइन ? हिजोको यस्तै पुर्वाग्रहि सोंचका कारण आज गलकोटबाट ताराखोला छुट्टियो । भोलि रिघा, पाण्डवखानी र दुदिलाभाटी छुट्टिन सक्छ ।
कृपया गलकोटको मेयर भएर हेरिदिनुस । हटिया र हरिचौर अनि चरौदीको मेयर भएर मात्रै होइन । सवै जनताको मेयर बन्ने प्रयास गर्नुहोस कुनै गुट र पार्टीको होइन !
रिघा, पाण्डवखानी र मल्मले पनि त सेन्टर खोज्न सक्छन । उनिहरुलाई के त्यो सेन्टर पर्छ छ ? होइन भने फाँटकै दोहन किन ? फाँटको विकास जहिले पनि हुन सक्छ । गाउँको विकास गर्न खोज्नुस । गाउँको भोट पाएर मेयर हुनुभयो उनिहरुको जीवन स्तर उकास्ने बारे सोंचिदिनुस । जापान घुमेर आईसक्नु भएको छ, विकासका केहि नयाँ मोडालिटीहरु गाउँ बाटै तयार पारिदिनुस । होइन भने, हजुरको जापान भ्रमण केवल प्लेन चढ्ने रहर र जापाने हरुको पैसाको मात मात्रै हुने छ । जस न जानेलाई मिल्ने छ न लानेलाई मिल्ने छ ।
त्यस्तो देश घुमेर आउनु भएका हजुरको न बजार सफा छ न खोला सफा छ । हिजो गौंदी र दरम खोलामा पौडि खेलेका हामी आज लोटाले पानी उवाएर नुहाउने ठाँउ सम्म पनि भेट्दैनौं । क्रसरको ज्यादति बारे कोहि बोल्न नसक्नु कि त्यहाँ दादागिरी हुनुपर्छ कि घुसको खेती ! होइन भने पर्यावरण माथि त्यसरि निरन्तर खेलावाड गर्न कसैलाई छुट हुनु हुँदैन ।
पृथ्वीका साझा चिज बँचाउने कर्तव्य तपाई हामी सबैको हुनु पर्दछ ।
यी यावत विषयहरु मथि के गर्न सकिन्छ ? यदि आवस्यक्तै पर्छ भने बरु बसौं र आ–आफ्ना कार्यपत्रहरु तयार पारि प्रस्तुत गरौं । ती कार्यपत्रहरु माथि छलफ र बहस गरौं । हामी गलकोटेहरु सवै चिज भएर पनि नाङ्गै छौ । हातमा सुनको कटौरा बोकेर देश विदेशमा भिख माग्नमा तल्लिन छौं ।
राम्रा राम्रा शिक्षाविद, ब्यापारी, व्याबसायी र समाजसेवीहरु छन गलकोटबाट तर ति गलकोटका लागि कतै केहि काम नलागे जसरी हराई रहेछन देश र विदेश तिर । उनिहरुले गलकोट फर्कन नखोज्नु यौटा मुर्खता होला तर गलकोटको विकाश गर्न खोज्नु भएका र त्यसको बागडोर सम्हाल्नु भएका हजुर मेयर साप र हजुरको टिमले उनिहरुको खोजि नगर्नु अर्को मुर्खता हो । उनिहरुको विज्ञताको खोजि गरेर प्रयोगमा ल्याउने र नया मोडालिटी तयार पार्ने काम हजुरहरुको हो ।
घनस्याम पाठकको विद्यालय नेतृत्व सम्बन्धि सीप, मोहन पन्तको इन्जिनियरिङ्गको सीप, अजय ढकालको बैकिङ्ग र विद्यालय ब्यवस्थापनको सीप, लोकराज रेग्मी र गांगाराम गौतमको शिक्षण कला सम्बन्धी सीप, सन्त खत्रीको व्यावसायिक सीप आदी । यी सवको खोजी हजुरहरु जस्ता नेतृत्व वर्गले खोज्नु र समाज परिवर्तनका लागि प्रयोग गर्नु जरुरी हुन्छ ।
त्यसैले आजको गलकोटको निर्माण गर्न खोज्दा भोलिको गलकोट लाई नविर्सनु होला । वर्तमानमा त जो पनि बाँचेकै छ, मेयर साप हजुर भविश्यका लागि बाँचिदिनु होला । र पुरै गलकोटको अविभावक भएर बाँच्ने प्रयास गरिदिनु होला । सुनौलो गलकोट हामी सबैको चाहाना हो ।
मन खत्री (सागर)
गलकोट ५, हरिचौर
हाल काठमाण्डौ
२०७७।३।३०
(लेखक- नेरिक एकेडेमि “काठमान्डौको प्रिन्सिपल् हुनुहुन्छ्)