परिकल्पनामा गल्कोट (मेयरलाई चिठी–२)

आदणीय मेयरसाप नमस्कार,
मेरो अघिल्लो पत्रले हजुरलाई छोयो छोएन थाहा भएन तर केहि साथिहरुलाई अवस्य छोयो । जसले यो परियोजनाबाट अनुचिन फाईदा लिन खोजिरहेका थिए उनिहरुलाई यसले नराम्रो संग चिमोट्यो ।

कसैले सामाजिक संजालमा हिरो हुन लेखेको लेख भने, कसैले आफु शहरमा बसेर हामिलाई जुकालाउने लेकमा धकेल्न खोज्ने प्रवृति भने, कसैले सर्वदलिय मर्म विपरितको विचार भने र कतिले गाउँको विकासमा डाहा गर्न खोजेको भने । तर लेख पुरै पढ्ने मध्य पञ्चानव्वे प्रतिशतले भने ‘भोलिको गलकोट प्रतिको सकारात्मक चिन्तन’ ।
कृपया आफ्नो समय र धैर्यताले साथ दिन्छ भने गत शनिवार (२०७७ साउन ३ मा) नयाँ पत्रिकाको पृष्ठ ६ मा खोकनाको बारेमा केदारभक्त माथेमा सँग लिएको एउटा अन्तरवार्ता छापिएको रहेछ । पढिदिनु होला, साँस्कृतिक सम्पदा, सँस्कृति र भुमी भएन भने भोलि के हुन सक्छ भनेर लेखिएको रहेछ ।
मेयर साप, हिजोको सर्वदलिय बैठकमा गरियको निर्णाय अपरिवर्तनिय हो जस्तो मलाई लाग्दैन । त्यो कुनै ढुंगामा कुँदिएको लेख होइन । त्यो भन्दा ठुलो २०५२ देखि २०६२ सम्मको विद्रोह थियो । २०६३ को जनआन्दोलन थियो । र २०७२/७३ मा बाँडिएको सपना थियो । के यि सबैको भाव र मर्म भनेको गाँउगाँउमा विकासको मुल फुटाउनु थिएन र ? विकासमा सबैको पहँुच हुनु जरुरी छ तर कसैको घरमा गोरु ब्याउँदा कसैको घरमा भैसी पनि नब्याउने स्थिती भयो भने त्यसले जनतामा वितृष्णा ल्याउँछ । त्यसको भागिदार नेतृत्वको हिसाबले हजुर हुनु पर्दछ । जसरि महाभारतको लडाँइको दोश पुरै धृतराष्ट्रमाथि थुपरियो । म अन्धो थिएँ, कुरु क्षेत्रमा म थिइन भनेर उनले उम्कन पाएनन । त्यसैले मेयरसाप, मेरो भनाईको अर्थ हो, घोडाले बग्गी तान्ने हो बग्गीले घोडा तान्यो भने दुर्घट्ना हुन्छ ।
हो रहरले भनौ या बाध्यताले हामी धेरै गलकोटेहरु शहर तिर र कतिपय विदेश तिर छौं । हजुरहरुले जति महत्वपुर्ण योगदान गाउँ समाजका लागि हामीहरुले दिन सकेका छैनौ होला तर त्यसो हो भन्दैमा गाउँ नबस्नेले गाउँको बारेमा सपना देख्न नपाउने पनि त होइन होला । कसारको कुन गुदी कुन बोक्रो ? पृथ्वीको जुन कुनामा बसे पनि गलकोटे आखिर गलकोटेनै हुन्छ । हिजो गाउँ छोड्नुमा उनिहरु सवैका आ–आफ्नै कथा ब्याथाहरु हुन सक्दछन । आज गाउँ फर्कन खोज्दा र गाउँको बारेमा चिन्ता ब्यक्त गर्न खोज्दा उनिहरुलाई निरुत्साहित पार्न खोजियो भने त्यसले आफैलाई घाटा हुन्छ ।
हामी सबै यो पृथ्वीका केहि समयका पाहुना मात्रै हौँ, नविसौँ ! यो पृथ्वी ध्वस्त पार्ने अधिकार हामी कसैलाई पनि छैन । सकिन्छ बचाऔँ, सकिदैन भने कमसे कम नविगारौँ । आज भन्दा २०० वर्ष पहिले ठकुरी राजाले कोट र सार्दाखेतको डाँडाँमा राजदरवार शत्रु सँगको डरले मात्रै बनाएका होइनन । आज हामीले पढ्यौँ, बुझ्यौँ र जान्ने भयौ भन्दैमा सबैकुरामा नजर अन्दाज ग¥यौ भने हामी यो धर्तिका सबै पुर्खाहरुमा कलंकित र मुर्ख पुर्खा कहलिने छौँ । मेयरसाप, डवल डिग्री गरें भन्दैमा माघे संक्रान्ति कहिले पर्छ भन्ने र काटेको बोको के भएर म¥यो भनेर सोध्ने मुर्खता हामीले गर्नु हुँदैन । पाइला पाइलामा आफै होसियार रहनुस्, पराईको काम त दाउरा विच्छ्याउने मात्रै हो आगो त यहाँ आफन्तले नै लगाउँछन !
धेरै समय गाउँ भन्दा टाढा भएपनि गाउँका कुना कन्दरा सबै आँखा भरि छन । कुन खोलाको पानी कस्तो छ र कहाँको माटो सस्तो छ त्यो पनि सबै ताजै छ । आज तिउन तर्कारीपनि भारत बाट आयात हुँदैछ । बैकमा थुपारेको पैसाले धान उमार्दैन । पलायन मुखी युवा शक्ति आफ्नो गाउँ ठाउँमा रोक्न नसक्नु हजुरहाम्रै कमजोरी हो । आफ्नो धनजनलाई विदेश लखेटेर यहाँ विकाशको सपना देख्नु भनेको आँपको रुख उखेलेर खिर्रो रापे जस्तै हो । गाउँ समाज देखि देश विदेशका साथीभाई र बुद्धिजिवीहरुको पनि सल्लाह लिँदा राम्रै होला जस्तो लाग्दछ । नत्र आफ्नै ज्ञानलाई मात्र सर्वोपरि ठानियो भने, भष्मासुरको हात नहोला भन्न सकिन्न !
काभ्रेको सम्म भु–भाग पाँचखाल हुँदाहुँदै धुलिखेलमा सदरमु काम बस्यो । बनेपा र काठमाण्डौको लगभग ३० प्रतिशत तरकारी पाँचखालले ओगट्छ अझैपनि, सिन्धुपाल्चोकको सम्म भुमी कुन्तावेसी हुँदाहुँदै सदरमुकाम चौतारामा विकाश गरियो, त्यसै गरि गोरखा, पाल्पा, डडेलधुरा, किर्तिपुर, दार्जलिङ्ग, सिक्किम यि सव ठाँउहरु सम्म परेको फाँटको अभावमा डाँडाँमा गएर बसेका होइनन । हिजो सदरमुकाम गराउँदा उनिहरुले आजको सपना देखेका थिए र त आज उदारण बनेका छन । यो कुरा हिजो जनताकालागि भनेर लडेका र आफ्नो ज्यु ज्यानलाई हत्केलामा बोकेर हिँडेका साथिहरुले पनि बुझ्नु जरुरी छ । खोलो तरियो लौरो विर्सियो भनेर सोंच्नु हुँदैन ।
उहि नीति न सिती यत्रै सिती भनेर उन्युको हलो र जुवा बनाएर फट्याङ्गाको गोरु जोत्न खोजेकै हो भने मेरो भन्नु केहि छैन । होइन भने गलकोट नगरपालिका अझैपनि नेपालकै एक उत्कृष्ट नगरपालिका बनाउन सकिन्छ । त्यस्ता जल्दा बल्दा युवा उपमेयर र वार्ड अध्यक्षहरु छन, उनिहरु किन बोल्दैनन ? उनिहरुले तँपाईलाई किन सहि बाटो देखाउन सकिरहेका छैनन ? कि उनिहरु पनि विरालोको जप मा सिद्राको माला भिरेर बसेका छन ? होइन भने भोलिको चिन्ता हजुरलाई भन्दा उनिहरुलाई बढि हुनुपर्ने हो ।
आदणीय मेयरसाप, कतिलेत त्यहाँ बसेर अर्ति र उपदेश दिनेहरु यहाँ आउन र बोल्न सकुन भनेर पनि लेखेका छन । मलाई थाहा छ, अर्ति र ओखती जो पायो त्यसैलाई सित्तिमिती मन पर्दैन । सायद कति मान्छेहरुले ऐन कहिल्यै हेदैन्थे होला यदि ऐनामा आफ्नो चित्रको ठाँउमा चरित्र देखिन्थ्यो भने । के थाहा म पो त्यसै भित्र पर्छु कि !
अहिलेका मान्छेहरुलाई सुविधा चाहिएको छ । त्यसमा कुनै दुई मत छैन । तर सुविधा लिनका लागि फाँट मास्नै पर्छ भन्ने छैन । डाँडाँ काँडाँ बाट पनि सुविधा दिन सकिन्छ । साहासी त त्यो हो जसले अरुले गर्न नसक्ने काम गरेर देखाउँछ । फाँटमा वस्ति बसाउनु र कुलोमा पानी बगाउनु कुनै महत्वपुर्ण कुरा होइन । यस्तो ठाँउमा नमुना बस्ति बसोस जहाँको मुल्य अहिलेलाई सुन्य बराबर छ । मलाई विस्वास छ त्यो साहास हजुरमा छ ।
हाम्रो नगरपालिका पुर्ण रुपमा स्मार्ट नगरपालिका बनोस । घरमै बसेर नगरपालिकाको काम गर्न सकियोस र अन्तमा मेयरसापको सहिछाप लगाउन मात्र नगरपालिकाको कार्यालयमा जान परोस । त्यति बेला घुसविहिन हँसिलो अनुहारले मेयरले कागजमा सहिछाप लगाइदिउन । जुन गाउँमा नगरपालिका बन्छ त्यो गाउँमा बन्ने नयाँ घरहरुको मोडेल र रंग एउटै होस् । फाँटमा त्यत्रो विधि लगानि गर्न तम्सियको नगरपालिकाको पैसाले आधुनिक किसिमको अपाङ्गमैत्री भवन बनोस र वाँकि पैसाले आधा आधा घण्टामा सुलभ मुल्यमा बेसी सम्म आउने नगरपालिकाका आफ्नै बस गुडुन । बजारको कोलाहल र प्रदुसण बाट दिक्क भएपछि एकछिन भएपनि स्वस्थ्य हावा लिन बजार बासीहरु विहान बेलुकि नगरपालिकाको परिसर भित्र छिरुन । आहा, मेरो नगरपालिका !
हाम्रो नगरपालिकाको विकास र व्यबस्थापनको मोडालिटी सुनेर र देखेर नेपालका हरेक जिल्ला जिल्लाहरु बाट मान्छेहरु शैक्षिक भ्रमणमा आउन जसरी अहिले स्याङ्गजा नगरपालिकामा र चितवनको विकु सहकारीमा मान्छेहरु गईरहन्छन । नगरपालिको कार्यालय अगाडि उभिएर घुम्टे पहाड र त्यसको काखमा बसेको त्यो मनोरम फाँटको फोटाहरु खिचुन र त्यस पछि तल झरेर दरम खोलामा गएर पौडिखेलुन । आफ्नै हातले माछा समात्ने प्रयत्न गरुन । स्वईमिङ्ग पुलमा पौडि खेलेका हरुको त्यो अनुभव कस्तो होला ? वाउ, मेरो नगरपालिका !
गाँउ गाँउमा होम स्टे बनुन । मान्छेहरु नम्र र सभ्य होउन । बजार, टोल र गाँउ जताततै सफा होस । भ्रमण आएका मान्छेहरु ले पनि प्रयोगमा ल्याएका प्लास्टिक र कागजका टुक्राहरु जथाभावि फाल्न हुँदैन रहेछ भनेर हामी बाट सिकुन । बाहिर बाट आउने रक्सि जन्य पदार्थ पुरै बन्द गरौं । आफ्नै गाउँको स्वथ्य पेय पदार्थको प्रवर्दन गरौं जसरि चित्लाङ्गले गरेको छ । १८ वर्ष मुनिका केटाकेटीहरुलाई धुम्रपान, मध्यपान र कुनैपनि दुव्र्यसनि जन्य पदार्थहरुको विक्रिवितरणमा रोक लगाऔँ । जसले यस्तो कुराहरुको विक्रिविरण गर्छ उसलाई कडा भन्दा कडा कारवाहि गरौं । चाहे त्यो जो सुकै होस । यो कुरा दार्जलिङ्ग बाट सिक्न सकिन्छ । जहाँ जो कोहिलाई दिउँसो र १८ बर्ष मुनिका बालबालिकाहरुलाई यस्ता पदार्थहरुको विक्रिवितरण गरेको खण्डमा लाइसननै खारेज गरिन्छ ।
मेयरसाप, हाम्रो नगरपालिका पुर्ण रुपमा अर्गानिक नगरपालिका बनोस । नगरपालिका कार्यालय वरिपरि रङ्गिचङ्गि फुल र फलहरु लटरम्म फलुन जुन फल र फुल टिपेर मेयरले पाहुनाहरुको स्वागत गर्न पाउन । आज हटियामा गलकोट मा वि लाई क्याम्पसको लागि जग्गा उपलब्ध गराउन हम्मे परिरहेको अवस्थामा त्रिभुवन विश्व विद्यालयको जग्गा ब्यबस्थापनमा देवकोटाले पु¥याएको विवेकको कल्पना गर्नुस त ! उतिबेला त उनलाई पनि बौलाहा भनेर राँचि पु¥याएका थिए । आज त्यहि बौलाहाले पु¥याएको योगदान र देखेको सपनामा टेकेर यो देशले विध्वानहरु जन्माउँदै छ । कल्पना गर्नुस त ! आफ्ना भविश्यका सन्ततिका लागि के तँपाई गलकोटको यौटा बौलाहा बन्न तयार हुनुहुन्न ?
मैले भर्खरै यो लेख लेखिरहँदा गलकोटकै एकजना साथी, जसको फाँटमा प्रयाप्त जग्गा छ, उनै सँग कुरा गरें । उनले नगरपालिकाको जुन निर्णाय बाहिर आयो त्यसैमा दुःख मनाउ गर्दै भने, “हाम्रो चेत फर्किन भारत ले छ महिन/वर्ष दिन मात्रै होइन, दश वर्ष नाका बन्दि लगाईदिनु पर्छ । पैसाका मात भएका हरु र खेत मासेर मेख मार्न खोज्नेहरुको हैसियत बल्ल देख्न पाईन्थ्यो” । यसको अर्थ स्पष्टै छ – सकेसम्म फाँट बँचाउनै पर्छ ।
आदरणीय मेयरसाप, जामा न पगरि जुताको ढ्याप ढ्याप नभन्नु होला । छटाकको जिब्रो चलाउनु भन्दा धार्नीको टाउको हल्लाउनु बेस भन्छन । मैले मेरो विवेकले देखेको परिकल्पना हजुर सँग बाँड्न खोजेको मात्रै हो । यो सव कुराको लगाम हजुरकै हातमा छ । नगरपालिको कार्यालय हरिचौर, हटिया र बसाहामा नै चाहिन्छ भन्ने छैन सर्दाखेत लौजादा हुन्छ, दान्सिङ्ग डाँडा पु¥याए नि हुन्छ, नेपाने, खुइल, मसार, कोट, मल्म, रिघा, पाण्डबखानि जता लगेपनि लाँदा हुन्छ तर खेतियोग्य जमिन मास्नु हुँदैन । र साँघुरो घेराभित्र सिमीत गरिनु पनि हुँदैन ।
सके सम्म सवैका लागि सहज बनोस, स्मार्ट र दुुरगामी बनोस । यो सवको जग हजुरकै कार्यकालमा बसोस । अवको सय वर्ष पछिको पुस्ताले हजुरको नाम पढेर गर्व गरोस । हजुरको मृत्यु पश्चात पनि हजुरको सालिक नगरकार्यालयको अगाडि उभ्याएर सम्मन र सत्कार दिन पाईयोस । जसरि आजको सिंगापुरको थालनिमा लि क्वान यु र क्युवाको विकाशमा फिडेल क्यास्ट्र भन्ने बुढाहरुको नाम आउँछ, भोलिको गलकोटको आधार स्तम्भका रुपमा हजुरको नाम आओस । हजुरको नाम लिएर हजुरका सन्तानहरुको मात्रै होइन सम्पुर्ण गलकोटको छाति गर्वले फुलोस ।
अन्तत मेयरसाप, पचास प्रतिशत भन्दा बढि युवा विदेश भएको हाम्रो नगरपालिकामा ति युवाहरु फर्केर आफ्नो गाउँ आउँदा “यस्तो त हामिले विदेशमा पनि देखिएको थिएन” भनेर जिब्रो काडुन र भनुन – वाउ, मेरो गलकोट !
मन खत्री (सागर)
गलकोट ५, हरिचौर
हाल काठमाण्डौ
२०७७।४।४

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →