नेपालको इतिहासबाटनै महाकाली हराउने चलखेल – दोस्रो भाग

कृष्णबहादुर थापा

Some excerpts of my forthcoming book :
पानीको अभावले भारतमा कतिसम्म गार्हो परेको छ भन्ने सम्बन्धमा भारतीय प्रसिद्ध इतिहासकार एवं पत्रकार रामचन्द्र गुहाले ‘नयाँपत्रिकाडेलीडटकम’ मा २०७६ श्रावण ६ को दिन प्रकाशित उनको लेखमा निम्नानुसार पुष्टि गर्नु भएको छ ;

“भारत अनेक समस्याको भूमि हो, तर यसमध्ये सर्वाधिक गम्भीर समस्या पानीकै हो । १९८० को दशकमा पर्यावरणविद् जयन्त वन्द्योपाध्यायले दूरदर्शितासाथ लेखेका थिए कि जलको गुणवत्ता र उपलब्धता केन्द्रीय विषय बन्नेछ । उनले भारतको भविष्य इन्धन होइन, जल हो समेत भनेका थिए । त्यतिवेला कसैले सुनेन । आज हरेक संवेदनशील व्यक्तिले यस विषयलाई गम्भीरतासाथ लिन थालेका छन् । हाम्रा ठूला र साना नदीमा प्रदूषणको स्तर उच्च छ । देशका सबै राज्यमा भूमिगत पानीको स्तर घट्दो छ, दूषित हुँदै छ । असमान वर्षाका कारण पहिलेको दाँजोमा धेरै क्षेत्र सुक्खाग्रस्त हुँदै छन् । पानीका स्रोत सुक्दै गएका छन् । यी सबै कारणले जलको उपयोग, दुरुपयोग, उपलब्धता, अभावसँग जोडिएका प्रश्न ढिला नै सही, सार्वजनिक र राजनीतिक बहसको विषय बन्न लागेका छन् (गुहा, रामचन्द्र : वि.स. २०७६ : पृ. १) I”
सोहीअनुसार भारतीय पत्रकार मीरा सुब्रमनियमले ‘नयाँपत्रिकाडेलीडटकम’ मा २०७६ श्रावण १२ को दिन छापिएको उनको लेखमा पनि भारतमा देखिएको पानी अभाव बारे खुलस्त गर्नु भएको छ ;
“जलवायु परिवर्तनले कसरी संकट निम्त्याउछ भन्ने ज्वलन्त उदाहरण हो, भारतमा देखिएको पानी अभाव । भारतको दक्षिणी राज्य तमिल नाडूको राजधानी चेन्नईका धारामा पानी आउन छाड्यो । विभिन्न स्थानका २१ सहर पनि यस्तै जोखिममा छन् ।…यस्तै पानी संकट विश्वका अन्य स्थानमा पटक–पटक देखिन थालेका छन् । पानीको भण्डारण रित्तिएर धारामा पानी आउन छाड्ने समस्याले केप टाउन, मेक्सिको सिटीदेखि ब्राजिलको साओ पाउलोसम्मको जोखिम बढ्दो छ । विश्वको आधा जनसंख्या पानीको अभावमा बाँचिरहेको छ । आममानिसले पिउन, खाना पकाउन र सरसफाइका आवश्यकता पनि पूरा गर्न पनि नपाउने अवस्था छ । चेन्नईका मध्यम र उच्च–मध्यम वर्ग विगतको भन्दा दोब्बर मूल्यमा ट्यांकरको पानी किनिरहेका छन् ।…..पानीको समस्या हुँदा चेन्नईका स्कुल, होटेल, रेस्टुरेन्ट र उच्च प्रविधियुक्त उद्योग सञ्चालन गरिरहन गाह्रो भइरहेको छ I…..दक्षिण एसियामा मनसुनको अनिश्चितताको खतरामा रहँदै आएको छ । केही महिना सक्रिय रहने मनसुनले यो क्षेत्रमा कुल पानी उपभोगको ७० प्रतिशत योगदान गर्छन् । मनसुनले नै यो क्षेत्रका नदीलाई भरिभराउ बनाउँछ र भूमिगत पानीलाई ‘रिचार्ज’ गर्छ । १.६५ अर्ब मानिसको गुजारामा सघाउने हिमालयको हिउँ पग्लेर नै हिमनदी बन्छन् । हाल बढ्दै गएको जलवायु आपतकालको सामना गर्न भारतले ठूलो परियोजनामा ख्याल गर्नुपर्छ (सुब्रमनियम, मीरा : वि.स. २०७६ : पृ. १) I”
भारतले आफ्नो देश सुक्खापनले ग्रसित भएको हुनाले सन् २०२४ सम्म यो सुक्खा, सिंचाईलाई चाहिने पानी तथा बिजुली उर्जा आदिका समस्याबाट मुक्त्त हुने घोषणा गरेको छ I त्यसैको निम्ति उसले धेरै वर्ष अघिदेखि नेपालमा अवस्थित नदी-नालाहरुलाई हातपार्ने षड्यन्त्र अन्तर्गत कसरी ‘अपर कर्णाली’ को सम्झौतापत्रमा नेपाललाई झुक्क्याएको छ भन्ने बारे चर्चित राजनीतिक विश्लेषक भरत दाहालले ‘स्वदेशनेपालडटकम’ मा २९ चैत्र २०७४ का दिन प्रकाशित आफ्नो लेखमा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“देशभित्रका माफिया एजेन्टहरुको भ्रमलाई तोडौं – सरकारले भारतीय कंपनी GMR संग मिति २०६४ साल माघ १० गते गरेको ‘अपर कर्णाली’ समझदारी नेपालको सबै भन्दा खतरनाक जलश्रोत संझौता हो । यसले कर्णाली नदिको संपूर्ण जलाधार क्षेत्र भारतीय कंपनीका हातमा पुर्याउने व्यवस्था गरेको छ । संसदमा छलफल र बहस हुँदा सबै यथार्थता सार्वजनिक हुने डरले दुइतिहाई बहुमतबाट पारित गर्नुपर्ने संविधानको धारा १५६ को व्यवस्थालाई छलेर सरकारले यो संझौता गरेको हो । यो “१२ बुँदे समझदारी”को ऋणमुक्तिका रुपमा गरिएको छ ।
–बुँदा नं.२६ अनुसार ‘माथिल्लो र तल्लो तटीय क्षेत्रका परियोजनाहरु कंपनीलाई दिनेतर्फ विचार’ गरिनेछ । यसको अर्थ हो, माथिल्लो तटीय क्षेत्र (चीनको सिमानासम्म) देखि तल्लो तटीय क्षेत्र (भारतको सिमानासम्म) मा बन्नसक्ने अन्य परियोजनाहरु भारतीय कंपनीलाई मात्र दिईनेछ । कंपनीको स्विकृति विना कसैले अन्य कुनैपनि प्रकारको आयोजना सञ्चालन गर्न पाउने छैनन् ।
–यसलाई ‘छाता समझदारी’ (Umbrella Agreement) मानिएको छ । यसको अर्थ के हो भने भारतसंग भएका अन्य जलश्रोत सन्धि–संझौताहरुलाई पनि ‘अपर कर्णाली’मा भएको समझदारी अनुसार पुनर्संरचना गर्न सकिने छ । अर्थात् भारतले लिएका अन्य नदिहरुमा पनि चीनको सिमानादेखि भारतको सिमानासम्मको सबै जलाधार भारतका नियन्त्रणमा लग्न सकिनेछ र त्यहाँ भारतको स्विकृति विना कसैले अर्को आयोजना सञ्चालन गर्न पाउने छैनन् । अन्य आयोजनाका हकमा समेत यो सम्झौतामा भएका प्रावधानले नजीरको रुपमा काम गर्नेछ ।
–भारतसंग यो संझौता Run of river परियोजनाका आधारमा भएको हो । यो भनेको नदिको प्रवाहका आधारमा बिजुलि उत्पादन गर्ने भनेको हो । भारतीय कंपनीले जुन ठाउँमा बाँध बनाउन खोजिरहेको छ, त्यसभन्दा थोरै माथि विशाल जलाशय निर्माण गरेर ४,१८० मेगावाट बिजुलि उत्पादन गर्न सकिने भनि एक क्यानेडियन कन्स्ट्रक्शनले सर्भे गरेको थियो । यो सर्भे विश्वबैंकको सहयोगमा नेपालले आफै गराएको हो । भारतले यहि जलासयलाई कब्जामा लिनका लागि ‘कर्णालि नदि’को पूरै जलाधार आफ्नो हातमा आउने गरि समझदारी गराएको छ । यो समझदारीबाट नेपालले अब त्यहाँ जलाशय बनाउन पाउने छैन । यसको सट्टा भारतले जलाशय बनाउने छ । जलाशयमा पानी जम्मा गरेर त्यसलाई सिंचाई। खानेपानी, बिजुलि उत्पादन आदि बहु उद्देश्यमा उपयोग गर्न सकिन्छ, जबकि ‘Run of river’ मा बगिरहेको पानीको प्रवाहबाट बिजुलि मात्र उत्पादन गर्न सकिन्छ ।
–यो परियोजना सस्तो यस कारणले भएको हो कि यसका लागि २.५ किमि सुरुङ खने पुग्छ र सुर्खेतदेखि जुम्ला जाने सडक पनि पहिल्यै बनिसकेको छ । बाटोका लागि कंपनीले कुनै लगानि गर्नु पर्दैन ।
–यो संझौता भारतको बृहत नदी जोड योजनाको हिस्साको रुपमा भारतले लिएको छ र त्यसै उद्देश्यका लागि निजी कम्पनी जीएमआरमार्फत कर्णाली जलाधार क्षेत्रमा प्रवेश गरेको छ । भारतीय नदी जोड योजनाको खाका अनुसार भारतले नेपालका कोशी, गण्डक, कर्णाली र महाकाली नदीहरुको पानी ठूला विशाल जलाशययुक्त उच्च बाँध निर्माण गरी वर्षाको बाढीको पानी संचय गरेर हिउँदमा दक्षिण तथा मरभूमिग्रस्त पश्चिम भारतमा लैजाने योजना बनाएको छ (दाहाल, भरत : वि.स. २०७४ : पृ. १) I”
जलस्रोत माथि भारतीय शासकहरुको कुत्सित चाहना कस्तो छ भन्ने सम्बन्धमा चर्चित पत्रकार हरि रोकाले ‘नयाँपत्रिकाडेलीडटकम’ मा २०७६ भदौ ४ को दिन छापिएको आफ्नो लेखमा निम्नानुसार स्पष्ट गर्नु भएको छ;
“जलस्रोत तथा ऊर्जा नेपाल र भारतबीच अत्यन्तै पेचिलो मुद्दाका रूपमा रहिरहने गरेको छ । भारतका सबैखाले (बहुमत, अल्पमत, मिश्रित) सरकार नेपालका खोलानालाबाट बहने नदीमाथि ‘तल्लो तटीय अधिकारी’ का नाताले आफ्नो विद्युत् र सिँचाइ व्यवस्थापनमा दोस्रो अधिकार होस् भन्ने चाहन्छन् । उनको चाहनाअनुरूप नेपालमा ठूला–ठूला जलाशययुक्त परियोजना बनून् ।
वर्षाको भेल नेपालका पहाडमा बाँध बाँधेर नियन्त्रण गरियोस् । निर्वाध रूपमा पानी र जलविद्युत् प्रयोग गर्न पाइयोस् । सस्तोमा बिजुली र सित्तैमा पानी प्राप्त गर्ने उसको चाहना कहीँ लुकेको छैन ।
(रोका, हरि : वि.स. २०७६ : पृ. १)
लिम्पियाधुरा जहाँबाट महाकाली नदी उत्पन्न हुन्छ त्यो नै प्राप्त गर्ने भारतको चाहना हो र त्यसैले गर्दा उसले सिमाना अतिक्रमण गरेको छ I भोलिका दिनमा अतिक्रमण गरेको लिपुलेक, कालापानीमा उसले बनाएको सडकको समानान्तर नहर र जलाशय निर्माण गर्दै लिम्पियाधुराबाट निस्कने महाकाली नदीको पथ-परिवर्तन गरेर आफ्नो देशमा सम्पूर्ण महाकाली नदी लगेर प्रयोग गर्ने दाउमा ऊ देखिएको छ I यदि समयमा नै राज्य सत्ता चलाउनेहरु र देशभक्त नेपालीहरुले यथार्तता बुझेनन् भने नेपालको इतिहासबाट नै महाकाली नदीको अस्तित्व लोप हुन् सक्छ I नेपालमा हामीहरु पानीको महत्व नबुझ्नाले हाम्रो पानी सित्तैमा खेर गइरहेको छ I नेपालमा सत्ता चलाउनेहरु र उनीबाट पोषित र निर्देशित बुद्धिजीवीहरु ‘नेपालको जल-सम्पदा’ लाई योजनाबद्ध किसिमले सदुपयोग गर्यो भने तीन करोड नेपालीहरुको भलो हुन्छ र देशको अर्थ व्यवस्था सही विकास हुन्छ तर उनीहरु सुटुक्क भित्रभित्रै दाउपेच गरेर आफ्नो व्यक्तिगत फाइदा हेर्न मात्र लालायित भएको आभास हुन्छ Iक्रमशः

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →