कृष्ण बहादुर थापा
Some excerpts of my forthcoming book :
इतिहासलाई केलाउने हो भने नेपालले वर्तमानसम्म भोग्दै आएको ‘नाकाबन्दी’ एउटा दुर्भाग्यपूर्ण नियति हो । एउटा भूपरिवेष्टित देश भएको कारण नेपालले यो नियति दक्षिणतिरको छिमेकी राष्ट्रबाट भोग्दै आई रहेको छ ।
नाकाबन्दीको इतिहास हेर्दै जाँदा नेपालले सम्झिनै पर्ने विशेष नाकाबन्दीहरु भनेको विसं २०२८ को नाकाबन्दी, पञ्चायतकालमा लगाइएको (२०४५ सालको ९ महिने आर्थिक नाकाबन्दी) र २०७२ सालको भूकम्पबाट प्रताडित नेपालीलाई भारतको अघोषित ६ महिने नाकाबन्दीलाई बुझ्नु पर्ने हुन्छ । २०२८ सालमा लगाईएको नाकाबन्दीको कारण चाहिँ मातृकाप्रसाद कोइरालाको समयदेखि नेपालको उत्तरी सीमाका १८ ठाउँमा राखिएका भारतीय चेक पोष्टहरुलाई वि.सं. २०२७ सालमा हटाउनु थियो I वि.सं. २०४५ सालमा भएको नाकाबन्दीको कारण चीनबाट हातहतियार तथा बन्दोबस्तीका सामग्री खरिद गरेको भन्ने थियो तथा वि.स. २०७२ को अघोषित नाकाबन्दीको कारण संविधानमा आमतवरमा सहभागितात्मक प्रतिनिधित्व तथा धर्मनिरपेक्षता ग्यारेन्टी गरिँदा भारतलाई चित्त नबुझ्दा तर समावेशिताकै निहुँ पारेर गरियो । वि.स. २०७२ को नाकाबन्दी गर्नु पर्ने भारतको भित्रि स्वार्थ के थियो भन्ने विषयमा विद्धवान लेखक लेखनाथ पाण्डेले नयाँपत्रिकाडेलीडट्कममा सन् १३ सेप्टेम्बर २०१९ को दिन प्रकाशित आफ्नो ‘मगजमा नाकाबन्दी’ शिर्षक लेखमा निम्नानुसार प्रकट गर्नु भएको छ ;
“नाकाबन्दीको नकाबभित्र अर्कै स्वार्थ लुकेको संविधान निर्माण मस्यौदा समितिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तीन वर्षपछि खुलासा गरे ।…..
उनका शब्दमा त्यतिवेला ‘भारतका दुईवटा चासो थिए : संविधानमा धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्नुपर्ने र ‘काठमाडौं–निजगढ द्रूतमार्ग’ निर्माण ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने (पाण्डे, लेखनाथ : सन् २०१९ : पृष्ठ १) ।”
वास्तवमा नेपालमाथि गरिएका नाकाबन्दीहरु भूपरिवेष्ठित देशका लागि समुद्रसम्म सहज पहुँच र तेस्रो देशसँग निर्वाध व्यापार गर्न पाउने अन्तर्राष्ट्रिय अभिसन्धिको ठाडो उल्लंघन थियो । त्यसको साथसाथै तेस्रो देशबाट आयतीत सामान रोकेर विश्व व्यापार संगठनको नियम पनि जबरजस्ती मिचिएको थियो । पौने तीन करोड जनसंख्या भएको सार्वभौमसम्पन्न मुलुकलाई ‘बन्धक’ बनाईएको थियो । यी नाकाबन्दीहरु नेपाली जनताप्रति भारतीय शासकहरुबाट गरिएको अत्यन्तै ग्लानियुक्त प्रदर्शित दुर्व्यवहार थियो । दक्षिणी छिमेकीबाट एक शत्रु राष्ट्रलाई भन्दा क्रुर व्यवहार प्रदर्शन गरिँदै खाद्यान्न, पेट्रोलियम आपूर्ति, अक्सिजन र औषधि जस्ता अत्यावश्यक पदार्थहरू बोकेका हजारौं सवारी साधन सिमानामा नै थन्काएर राख्न बाध्य बनाइएको थियो । हाम्रो स्वाभिमान, हाम्रो आत्मसम्मान कुल्चिने यो राष्ट्रघाती नाकाबन्दीरुपी प्रहारहरु सहन हामी किन बाध्य भयौं भनेर इतिहासका पाना पल्टाउँदा एउटा सत्यज्ञान भयो कि हामीहरुलाई हाम्रा राज्यसत्ता चलाउनेहरुले संधै भ्रममा राख्ने गरेका रहेछन I हामीहरुलाई दक्षिण छिमेकीमुखी तथा उसैमाथि आश्रित बनाईएको रहेछ I उसले नाकाबन्दी खोलेन भनि हामी बाँच्न सक्दैनौ भन्ने दास मानसिकता सृजना गर्ने काम हाम्रै नेताहरुबाट भइरहेको यथार्थतालाई अब सम्पूर्ण देशभक्त नेपालीहरुले बुझ्न आवश्यक छ I प्राचिनकाल देखि नै हाम्रो मुख्य व्यापारिक केन्द्र चीन तथा चीनको स्वशासित क्षेत्र तिब्बत हो I ब्रिटिश इन्डियासित हाम्रो युद्ध भएको मुख्य कारणमध्ये को एक भोट(तिब्बत) सँगको व्यापार पनि हो I दक्षिण छिमेकीले पटक पटक नेपालमाथि नाकाबन्दी गरेर हाम्रो जीवनलाई कष्टपूर्ण बनाउँदै र हाम्रो अर्थतन्त्र चौपट पार्दै शत्रु राष्ट्र माथि गर्ने जस्तो व्यबहार गर्ने गरेको छ I मालिक प्रवृत्ति देखाउँदै भारतीय प्रशासकहरू नेपालीहरुलाई हेप्ने, होच्याउने र दुर्व्यवहार गर्ने गरेको छन् जबकी दुवै देश बीचको कूटनैतिक सम्बन्ध एकअर्का मुलुकको अखण्डता, स्वतन्त्रता र सार्वभौमिकताप्रति पारस्परिक सम्मान गर्ने; अनाक्रमण; अहस्तक्षेप (तटस्थ); शान्तिपूर्ण सहअस्तित्व; र समानता तथा पारस्परिक लाभमा आधारित व्यवहार गर्नेगरि शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त (पञ्चशीलको सिद्धान्त)का आधारमा हुनु पर्ने हो I इतिहासकाल देखि वर्तमान सम्मका ऐतिहासिक दस्तावेजहरु अध्ययन गर्दा हाम्रो उत्तरी छिमेकी चीनले पञ्चशीलको सिद्धान्तका आधारहरु तथा आचार-संहितालाई अक्षरक्ष पालना गरेको देखिन्छ I उत्तरी छिमेकी चीनद्वारा नेपालको विकासको निम्ति तथा नेपाललाई आत्मनिर्भर बनाउने दिशा तर्फ जुन सहयोग दिएको छ त्यो अतुलनीय रहेको बुझ्न सकिन्छ I उसले दिएको अनुदानका रकमहरु पनि अन्य राष्ट्रहरुको तुलनामा बढी नै देखिन्छ I सबैभन्दा ठूलो र अमुल्य उसको देन भनेको हामीलाई सहयोग, अनुदानको साथसाथै उसको सन्तुलित व्यवहार हो जसले हाम्रो आत्मसम्मान, स्वभिमान र मर्यादालाई कायम राखेको छ I क्रमशः