नि:स्वार्थी छिमेकी – भाग १

कृष्णबहादुर थापा
Some excerpts of my forthcoming book : राजा महेन्द्रले परराष्ट्र नीति (विदेश नीति)का क्षेत्रमा असंलग्न र समदुरी सिद्धान्तको मार्गदर्शन प्रस्तुत गर्नुभएको थियो ।

उत्तरी र दक्षिणी सँधियार दुवैसँग युगौंयुगदेखि सम–दूरी, सम–सामीप्यता र सम–निकटताका जगमा सन्तुलित सम्बन्ध रहिआएको यथार्ततालाई बुझेर सोहीअनुसार उनले सम्बन्ध कायम राख्ने प्रयत्न गरेको पाइन्छ । तर पछि गएर हाम्रा राज्यसत्ताका शासकहरु पद, पैसा र व्यक्तिगत स्वार्थका लागि एकापट्टी (दक्षिणतिर) मात्र बढी ढल्किने गरेको देखिन्छ जसले गर्दा नेपाल र नेपालीहरु हेपाई, मिँचाई र अपहेलित हुन् पर्ने स्थितिको सृजना भएको छ I अन्यथा नेपालीहरुले सास्ती भोग्नु पर्ने थिएन I नेपालको विकासकालागि भनेर कोशी, गण्डकी र महाकालीको सन्धि गरियो तर त्यो सन्धिहरुले भारतलाई मात्र सिँचाई र विद्युत उपलब्ध भएर उनीहरुले विकासमा फड्को मारेका छन् तर नेपालले विनाश र परनिर्भरता प्राप्त गरेको छ I दक्षिण छिमेकीको नियतमा नै खोट देखिएको बारे विद्धवान लेखक उपप्राध्यापक शम्भुराम जोशीले स्वदेशनेपालडट्कममा २१ बैशाख २०७५ को मितिमा प्रकाशित आफ्नो लेखमा निम्नानुसार स्पष्ट खुलासा गर्नु भएको छ ;
“अन्तर्राष्ट्रिय कानून अनुसार नेपालले पाउने सुविधा नेपाललाई दिन र विश्व व्यापार संगठनका प्रावधान अनुसार नेपाललाई उसले कैयौं व्यापारिक सुविधा नदिन बहाना बनाउने गरेकोछ । नेपालमा बन्दै गरेको निजगढ र भैरहवा विमानस्थलमा विमान अवतरण र उडानका लागि नेपाललाई आवश्यक पर्ने नेपालगञ्ज र भैरहवा आसपास आफ्नो आकासको अनुमति दिन भारतले नचाहेबाट उसले कुन हदसम्म नेपालको आर्थिक प्रगति चाहन्छ भन्ने कुरा स्पष्ट हुन्छ (जोशी, शम्भुराम : वि.स. २०७५ : पृ. १) I”
उत्तरी छिमेकी चीनद्वारा नेपालको विकासको निम्ति, आत्मनिर्भर बनाउने दिशातर्फ सहयोग तथा प्रशस्त अनुदानहरु उपलब्ध गराउनुको साथसाथै नेपालीहरुले आत्मगौरव गर्ने वातावरणको सृजना पनि गराएको छ I हाम्रो आत्मसम्मान र स्वाभिमानलाई कुनै ठेस नपुर्याई सहृदयतापूर्वक सहयोगहरु गरेको छ I इतिहासकाल देखिनै हाम्रो उत्तरी छिमेकी चीनले नेपाललाई दिएको सहयोग र अनुदानको बारेमा विद्धवान लेखक एवं अनुसन्धानकर्ता शैलेन्द्रबहादुर थापाले दुनियाकोखबरडट्कममा १३ भाद्र २०७७को मितिमा प्रकाशित आफ्नो लेख “नेपाल–चीन सम्बन्धका बहुआयामिक चरणहरु : भाग–९ मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“राजा महेन्द्रको सेप्टेम्बर २८, १९६१–अक्टोबर १५, १९६१ सम्मको १८ दिने राजकीय चीन भ्रमणका अवसरमा जसरी राजा महेन्द्रद्वारा आफ्नै दस्तखतमा नेपाल र चीनबीच सीमा–सन्धि सम्पन्न गरिएको थियो त्यसैगरि आफ्नै रोहवरमा अक्टोबर १५, १९६१मा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री तुलसी गिरी र चीन सरकारका तर्फबाट विदेशमन्त्री चेन यीको संयुक्त दस्तखतमा पेकिङमा ०५ बुँदे राजमार्ग निर्माण सम्झौता सम्पन्न गरिएथ्यो । यसै सम्झौताअन्तर्गत नेपाल–चीन जोड्ने कोदारी–अरनिको राजमार्ग (करीब १४४ किलोमिटर लम्बाइ) निर्माण भएको हो । नेपाल सरकारको अनुरोधमा जनगणतन्त्र चीन सरकारले नेपालसँग कुनैपनि शर्त र नेपालको राष्ट्रिय अखण्डता एवं सार्वभौमिकतामाथि आँच नआउनेगरि विशेष अधिकाररहीत किस्ताबन्दीका रुपमा आर्थिक अनुदान सहायता रकम्बापत जुलाई १, १९६२देखि जून ३०, १९६६सम्म ३५ लाख पाउण्ड स्टर्लिङ उपलब्ध गराएको पाइन्छ I नेपाल–चीनबीच अगष्ट २९, १९६५मा पेकिङमा गरिएको ०५ बुँदे राजमार्ग निर्माण सम्झौता अन्तर्गतको आर्टिकल ०१मा करीब २१४ किलोमिटर काठमाण्डौ–पोखरा राजमार्ग र करीब २९.५ किलोमिटर उपत्यका चक्रपथ निर्माणगर्ने सम्झौता भएको पाइन्छ । यो सम्झौताको आर्टिकल ०१मा तोकिएअनुसारको आयोजना निर्माणका लागि आवश्यक खर्चहरु दुवै पक्षबीच मार्च २१, १९६०मा पेकिङमा सम्पन्न आर्थिक सहयोग सम्झौतामा प्रदान गरिएको सहयोग रकमबाट भुक्तानीगर्ने व्यवस्थारहेको पाइन्छ । सो आयोजनामा लागतभन्दा बढी हुने खर्च चीन सरकारले निःशुल्क अनुदानकोरुपमा प्रदान गर्ने र अनुदानका लागि तय भएको रकम दुवैपक्षले पत्रको आदान प्रदानद्वारा पुष्टि गर्ने (आर्टिकल ०२) लगायतका अन्य व्यवस्थाहरु गरेको पाइन्छ (ऐजन, सन २०१५, पृ.३५१–३५२) । नेपालको राष्ट्रिय अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने उद्देश्यकासाथ चीन सरकारले नेपाल सरकारलाई सम्पन्न परियोजनाहरुका लागि अनुदान सहयोग गर्ने सम्बन्धी ०४बुँदे अर्को सम्झौतामा नोभेम्बर १८, १९७२मा पेकिङमा दस्तखत भएको थियो । यो सम्झौताअन्र्तगत काठमाण्डौबाट भक्तपुरसम्म ट्रलीबस लाईन, काठमाण्डौमा ईँट तथा टायल कारखाना, सुती (कटन) धागो प्रिन्टिङ्ग एण्ड डिजाईनिङ्ग मिल स्थापनाका लागि उपकरण र गोरखा–नारायणघाट राजमार्गसम्बन्धी क्षेत्रहरुमा सहयोग प्रदान गर्ने सम्झौता (आर्टिकल ०१) लगायतका अन्य व्यवस्थाहरु गरेको पाइन्छ । नेपाल र चीन (तिब्बत) बीच काठमाण्डौमा नोभेम्बर २२, १९८१मा सम्पन्न व्यापार तथा भुक्तानी सम्झौताको आर्टिकल ०३को अनुसूचीमा व्यवस्था गरेको लिस्ट ̒’ए’ को समुह ‘ए’मा समुद्रीमार्ग भएर चीनबाट नेपालका लागि निर्यात हुने वस्तु तथा सामानहरु क्रमशः टेक्स्टाइल, गार्मेन्ट, हलुका औद्योगिक उत्पादनहरु, खाद्य सामग्रीहरु, सिमेन्ट, धातु र स्टिलजन्य उत्पादित सामानहरु, लुब्रिकेण्ट आयल, केमिकल्स्का साथै अन्य वस्तु, सामान र पशु चौपायाहरु रहेका छन् । त्यसैगरि लिस्ट ̒ ‘ए’ को समुह ‘बि’मा चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपालका लागि निर्यात हुने वस्तु तथा सामानहरु क्रमशः कच्चा उन, जिउँदो भेँडा, नून, याक र याकको पुच्छर, कार्पेटका साथै अन्य वस्तु, सामान र पशु चौपायाहरु रहेका छन् । यसै सम्झौताको लिस्ट ‘बि’ को समुह ‘ए’ मा नेपालले चीनका लागि निर्यात गर्ने वस्तु तथा सामानहरु क्रमशः जुट, चिनी, काठ, सुकेको छाला, मेडिस्नल हर्बस्, चियाका साथै अन्य वस्तु, सामान र पशु चौपायाहरु रहेका छन् । लिस्ट ̒’बि’ को समुह ‘बि’ मा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतका लागि निर्यात गर्ने वस्तु तथा सामानहरु क्रमशः खाद्यान्न, गहुँको पिठो, चिनी, जुटको ब्याग र जुटको कपडा, सुर्ती, सुकेको खोसार्नी, मैनबत्ती, डाइस्टफ, साबुन, काठ, क्रस–ब्रेड याक (भाले) का साथै अन्य वस्तु, सामान र पशु चौपायाहरु रहेका छन् । क्रमशः

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →