लोकेन्द्र जि सी,प्युठान
त्यो आशाको फूल,
त्यो भरोसाकोको फूल,
छैन अझै फुलिसकेको
छैन अझै झुलिसकेको
सजिएका छन रङ्गिन सपना।
कोरिएका छन मुक्तिका रेखाहरु
ती जीवन दाताहरुका सपना।
अर्ध जीवन जिइरहेका
अपाङ्ग अनि घाइतेका सपना।
ती बाल बिधबाका सपना।
बेसहारा र टुहुराका सपना।
भोका नाङ्गा र असहायका
गाँस बाँस र कपासका सपना।
सडक पेटीमा एक ढिक्का
बिरिनुन र ल्वाङ सङ्गै जोखिएका
ती बुढिआमाका सपना।
अरब खाडीको तातो भट्टिमा
गालिइरहेका नौजबानका सपना।
समग्रमा भनौं
संबृद्द नेपाल र सुखी नेपालीको सपना।
फूलका पुस्पदलदलमा
त्यसका पत्र दलदलमा
नयाँ नेपालको नक्सा खिच
उहीँ पुरानो रुपको होइन
उहीँ पुरानो स्वरुपको होइन
साची एउटा रङ्गिन फूलको नक्सा
एउटा नयाँ नेपालको नक्सा
त्यसको त्यो मानचित्रमा
हिमाल पहाड तराइ अटाओस
महिला,दलित जनजाति अटाओस
मधेस उपेक्षित बिस्तापित अटाओस
त्यसैले ,ए मालीहरु हो,
बुझिराख है त्यो कस्तो फूल हो।
किनकी
यो त उनिहरुको रक्त दहमा उमृएको फूल हो
उनकै पसिनाले सिन्चेको फूल
उनकै आसुले भिजेको फूल।
हेरन यस्को जरामा
जमेको छैन अझै आलो रगत
त्यही फूलको बार बन्न
कतिले आफ्नै हात दिए
कतिले आफ्नै खुट्टा दिए्
कतिले हेर्ने आँखा दिए
कतिले आफ्नो ज्यानै दिए
त्यसैले,
ए मालीहरु हो,
चिनिराख है त्यो कस्तो फूल हो।
फर्केर हेर त तिम्रा ती खुट्टामा
लतपतिएको रगत
कसरी सजाउछौ सजाउ अब
तिम्रै हातमा छ यो जगत।
उहीँ पुरानो बानीले
आपसी खिचातानीले
निजि संसार सजाउन
एक्लै तिमी रजाउन
फूल थुङ्गा च्यात्यौ भने
यसको कान्ड भाच्यौ भने
त्यो रक्तदहले
तिमिहरुलाइ नै डुबाउने छ
सडाउने छ अनि कुहाउने छ
त्यसैले ए मालीहरु हो
अब त साच्चै चिन्यौ नि
त्यो कस्तो फूल हो?
यसको जरामा धमिरा बस्लान
गम्बारो आइ काण्डमै डस्लान
झुसिलकिरा पातमा बस्लान
त्यसैले त्यो फूल भुइमा नझरोस
बार्हमासे फूल त्यो सुकेर नमरोस
किनकी यो त
रङ्गिन सपनाले सजिएको
आसा र भरोसाको
रक्तरन्जित फूल हो।।
अस्तु.