कविता

अनन्तकुमार बस्नेत

फर्केर आऊ छिटो
(शार्दूलविक्रीडित)
====ॐॐ====
हे ! साथी भन आज बास छ कहाँ कस्तो छ दैनन्दिनी ?

यौटा प्रश्न म गर्छु आज कसरी चल्दैछ तिम्रो जुनी ?
देखेँ एक यता अनिष्ट सपना सन्चो बिसन्चो छ के ?
बायाँ फुर्फुर गर्छ नेत्र किन हो सम्झिन्छु यो हुन्छ के ? १।
•••
छैनन् पत्र कुनै शुभो खबरका रित्ता दुबै हात छन् ।
कालो बादल मात्र घुम्छ शिरमा नैराश्यका खात छन् ।।
कल्ले सुन्छ र भित्र यो हृदयमा लाखौँ मिठा बात छन् ।
लाग्दैनन् झलमल्ल घाम किन हो मात्रै यता रात छन् ।२।
•••
रोजै बस्छु म बागका मखमली हेरेर गोदावरी ।
खोजी गर्छु म चित्तकी मधुमती आफ्नै प्रिया किन्नरी ।।
एक्लो नीरव रातमा झिलिमिली गन्दैछु तारा बसी ।
लेख्ने गर्छु म शब्द यी विरहका मागेर थोरै मसी ।३।
•••
बाडुल्की जब लाग्छ हिक्क दिलमा त्यो चित्र सम्झिन्छु म ।
पोल्दा यो विरहाग्निले हृदयमा तत्काल झस्किन्छु म ।।
डुब्दो भास्कर हेर्छु साँझपखमा डुब्दैछुझैँ लाग्दछ ।
निस्किन्छन् मृदु चन्द्र दूर नभमा चिन्ता सबै भाग्दछ ।४।
•••
मेरो लाखन प्रार्थना छ प्रभुमा आओस् उजेलो भनी ।
यौटा दीप जलाउँदैछु निशिमा भागोस् अँधेरो भनी ।।
भर्दै भावुक कल्पना मगजमा बस्दैछ यौटा ठिटो ।
आयो याद मिठो प्रिया मिलनको फर्केर आऊ छिटो ।५।
=====(✍️२०८०/०४/१५)=====

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →